अझै खुलेन केरुङ नाका, १३ अर्ब ५३ करोड राजस्वको संकलन लक्ष्य असफल [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
696
Shares
तस्बिर – क्षितिज तामाङ, नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीका कारण केरुङ नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल र चीनबीचको मालसामान ढुवानी पूर्ण रूपमा बन्द भएको छ ।
बाढीमा धेरैले ज्यान गुमाए भने ट्रक र कन्टेनरहरू बाढीले बगाउँदा व्यापारीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नु पर्यो । बाढीका कारण नेपालतर्फका सयौँ ट्रक कन्टेनरहरू बगाएका र मितेरी पुल समेत बगाउँदा झन्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएको व्यापारीहरु बताउँछन् ।
नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड गरिएका कन्टेनरहरु बाढीपछि चीनतर्फ नै अड्किएका कारण पाँच महिना बितिसक्दा पनि ढुवानी सञ्चालन हुन सकेको छैन जसका कारण व्यवसायीहरूले आर्थिक सङ्कट झेलिरहनु परेको छ ।
यसरी नाका क्षेत्र महिनौँदेखि बन्द हुँदा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्नसमेत सकेको छैन ।
चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनाका लागि १३ अर्ब ५३ करोड राजस्वको संकलन लक्ष्य रहेको थियो ।
बाढीले मितेरी पुल, भन्सार यार्ड तथा सडकमा क्षति पुर्याउँदा यस नाकाबाट पाँच महिनामा महिनामा झण्डै १४ अर्ब भन्दा बढी राजस्व गुम्न पुगेको छ।
काठमाडौँबाट करिब १३२ किलोमिटरको दूरीमा पर्ने यो नाका राजस्व संकलनको हिसाबले देशको पाँचौ ठूलो भन्सार कार्यालयको रुपमा रहेको थियो ।
उत्तरी छिमेकी चीनतर्फको महत्त्वपूर्ण व्यापारिक नाकाका रुपमा विकसित हुँदै गएको यो नाका ल्हेन्दे नदीमा आएको भीषण बाढीसँगै अहिले ठप्प छ ।
चीनतर्फबाट तत्कालका लागि पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने नेपालतर्फ अवरोध भएका सडकहरू खुलिसकेका छन् ।