'नेपालमा लगानीको अनुकूल वातावरण छ, ढुक्क भएर पुँजी परिचालन गर्नुस्'
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
623
Shares
काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले नेपाल र चीनबीचको आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउन चिनियाँ लगानी वृद्धिमा जोड दिए। मङ्गलबार काठमाडौँमा आयोजित 'नेपाल-चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशाला'लाई सम्बोधन गर्दै उनले नेपालले वैदेशिक लगानी आकर्षित गर्न विभिन्न आर्थिक सुधारका कार्यक्रमहरू लागू गरिरहेको जानकारी दिए।
अर्थमन्त्री खनालले सरकारले विदेशी लगानीका लागि कानुनी र संरचनागत रूपमा अनुकूल वातावरण निर्माण गरेकाले चिनियाँ लगानीकर्ताहरूलाई ढुक्क भएर नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरूमा पुँजी परिचालन गर्न आह्वान गरे। नेपाल र चीनले पारस्परिक लाभका नयाँ आर्थिक क्षेत्रहरू पहिचान गरी सहकार्य गर्नु आजको आवश्यकता रहेको उनले बताए।
सोही अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन सङले चिनियाँ लगानीकर्ताहरूले नेपालमा आफ्नो उपस्थिति र सक्रियता क्रमशः बढाउँदै लगेको बताए। दुई देशबीचको ऐतिहासिक र बहुआयामिक सम्बन्धको चर्चा गर्दै राजदूत सङले विशेष गरी औद्योगिक विकास, जलविद्युत्, भौतिक पूर्वाधार र ऊर्जाका क्षेत्रमा सहकार्य गर्न चिनियाँ व्यवसायीहरू निकै इच्छुक रहेको जानकारी दिए। उनले नेपालको समग्र विकास प्रयासमा चीनको तर्फबाट निरन्तर र पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे।