काठमाडौं बजारमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) ७० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता व्यवस्थापन गर्न लागेको हो।
अहिले वित्तीय प्रणालीमा कुल निक्षेप ७२ खर्बभन्दा बढी पुगेको छ। राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर नियन्त्रणका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा जस्ता उपकरणहरू प्रयोग गर्दै आएको छ।
यो बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकमको बाँडफाँट बोल गरिएको ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्नेलाई प्राथमिकता दिई क्रमशः वितरण गरिनेछ।
बोलकबोल अनलाइन खरिद प्रणालीमार्फत हुनेछ र यसको ब्याजदर बोलकबोलबाटै निर्धारण गरिनेछ। आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ र ब्याज २०८२ असोज १२ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ।
बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ। केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता भएमा त्यसलाई व्यवस्थापन गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्छ। यही व्यवस्थाअनुसार, राष्ट्र बैंकले समय-समयमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।