शशांकको गुनासोः मैले के गल्ति गरेको थिएँ र मेरो घर जल्यो ?
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
5.1k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले जेन–जीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गरेका हुन् ।
उनले वास्तविक जेन–जी को हो ? भनेर ठम्याउनुपर्ने बेला भएको उनको भनाइ छ । उनले जेन–जी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको विरोधमा आन्दोलन गरेको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएकै कारण राज्य संरचना खरानी भएको बताए । उनले आफूले कहिल्यै भ्रष्टाचार नगरेको र मन्त्रीसमेत नभएको भए पनि घर जलाइएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘म त अचम्ममा परेँ । कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपात भयो । मान्छेहरु मरे । भनिन्छ एक्सपर्टले गोली हानेको छ । टाउको र छातीमा नै गोली हानेको छ । जुन पुलिसले गर्नै सक्दैन । घुसपैठहरु आन्दोलनमा घुसेका छन् । सबैभन्दा पहिले त हामीले यो जेन–जी भनेको कुन शक्ति हो भन्ने कुरा ठम्याउनुपर्यो । उनीहरुले तीन वटा कुराहरु उठाए । सुशासन, भ्रष्टाचार र सामाजिक सञ्जालको कुरा मात्रै थियो । तर पछि उनीहरुले त हरेक ठाउँमा आगो लगाए । मेरो घर पनि जल्यो । मैले के गल्ति गरेको थिएँ ? थाहा छैन । चार चोटी जिते मन्त्री पनि भएको छैन । न त भ्रष्टाचार नै गरेको छु । मेरो मात्र होइन गणेशमानजीको घर जल्यो, किसुनजीको घर जल्यो । ८० वर्ष पुरानो कोइराला निवास जल्यो । किन जल्यो ? यो प्रश्नको उत्तर म दिन सक्दिनँ ।’
उनले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।