कांग्रेसको माग: जेन-जी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन होस् [भिडियो]
देउवा दम्पतीमाथि आक्रमणको निन्दा
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
1k
Shares
काठमाडौं। नेपाली कांग्रेसले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाको छानबिन गर्न सरकारसँग उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ। शुक्रबार आगजनीले क्षतिग्रस्त पार्टी मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यो माग गरेको हो।
पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिँदै जेन-जी आन्दोलनले खर्बौँको सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याएकोमा निन्दा र भत्र्सना गरिएको बताए। उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन तत्काल आयोग गठन गर्न सरकारसँग माग गरिएको बताए।
बैठकले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण तथा उनीहरूको निजी निवासमा गरिएको आगजनी, तोडफोड र लुटपाटको घटनाको पनि कडा शब्दमा निन्दा गरेको छ। विश्वकर्माले सभापति देउवा दम्पतीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको बताए।
नेपाली कांग्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षा गर्न विभिन्न राजनीतिक दल, नागरिक समाज र सबै सरोकारवालाहरूसँग गहिरो परामर्श गर्ने निर्णय गरेको छ। पार्टीले शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
पार्टीले जेन-जी पुस्ताले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक सञ्जाल सुचारु गर्ने जस्ता जायज मागहरूलाई आत्मसात् गर्दै तिनलाई विधिवत् रूपमा सम्बोधन गर्न सधैँ प्रतिबद्ध रहने जनाएको छ।
नेपाली कांग्रेसले मुलुक अहिले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई थप सबल, सुदृढ र एकताबद्ध भएर अगाडि बढ्न पनि आह्वान गरेको छ।