बागलुङ। बागलुङको काठेखोला गाउँपालिका–५, कर्लिमका तिलबहादुर कँडेल जस्ता धेरै स्थानीय अहिले गाउँ रित्तिएपछि चिन्तित छन्। गाउँघरका सबै घर खाली हुँदै गएको र दुःखसुखमा सहयोग गर्ने छिमेकी पनि नभएकोमा उनी दुःखी छन्। कुनै समय चहलपहल हुने कर्लिम गाउँमा अहिले दुई-चार घरमा मात्रै मान्छे भेटिन्छन्।
कँडेलका अनुसार, गाउँमा बिरामी पर्दा अस्पतालसम्म पुर्याइदिने मान्छे पाउनसमेत गाह्रो भएको छ। झाडी बढेर वन्यजन्तुको आतंक बढेको र बाटोघाटो पनि पुरिएको उनी बताउँछन्।
स्थानीय मैना सुवेदीले गाउँमा युवा शक्ति नहुँदा खेतीपातीको कामसमेत रोकिएको बताइन्। उनका अनुसार, धनीमानी र युवाहरू विदेश वा सहरतिर लागेकाले गाउँमा जता हेर्यो त्यतै बाँझो जमिन र उजाड बस्ती मात्र देखिन्छ। यस अवस्थालाई रोक्न सरकारले बसाइँसराइलाई व्यवस्थापन गर्न र घर खाली नराख्ने नीति ल्याउनुपर्ने उनको सुझाव छ।
कर्लिम मात्र होइन, बागलुङका अन्य धेरै ठाउँबाट पनि बसाइँसराइ गर्नेको संख्या बढ्दै गएको छ। काठेखोला जिल्लामै सबैभन्दा धेरै बसाइँसराइ हुने ठाउँमध्ये पर्छ। यहाँका अधिकांश युवा जापान, कोरिया र अस्ट्रेलियामा छन् भने उनीहरूका परिवार बागलुङ, पोखरा, काठमाडौँ र चितवन जस्ता सहरमा बस्न थालेका छन्।
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले नागरिकलाई गाउँमै रोक्नका लागि सीप, प्रविधि र उद्यमशीलतासँग जोड्ने कार्यक्रमहरू ल्याइएको जानकारी दिए। गाउँपालिकाले उद्यम गर्न चाहने युवालाई अनुदान र प्राविधिक सहयोग दिँदै आएको उनको भनाइ छ। यद्यपि, पहिलेको तुलनामा गाउँमा केही परिवर्तन आए पनि बसाइँसराइ पूर्ण रूपमा रोक्न भने नसकिएको उनले बताए।