काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा मामुली रूपमा घटेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा २ अर्ब ९३ करोड (०दशमलव१ प्रतिशत) ले घटेर ५४९५ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत वर्षको सोही अवधिमा भने यस्तो कर्जा १४ अर्ब ११ करोड रुपैयाँ (०दशमलव३ प्रतिशत) ले वृद्धि भएको थियो ।
यद्यपि, वार्षिक विन्दुगत आधारमा हेर्दा २०८२ साउन मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थातर्फ ६२दशमलव७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७दशमलव३ प्रतिशत कर्जा प्रवाह भएको छ । गत वर्षको सोही अवधिमा यी अंश क्रमशः ६३दशमलव४ प्रतिशत र ३६दशमलव६ प्रतिशत रहेका थिए ।
कर्जाको धितो संरचनाको हिसाबले हेर्दा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) सुरक्षणमा १४दशमलव८ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६४दशमलव४ प्रतिशत कर्जा रहेको छ । गत वर्ष यिनको हिस्सा क्रमशः १३दशमलव३ प्रतिशत र ६६दशमलव३ प्रतिशत थियो ।
क्षेत्रगत हिसाबले हेर्दा पहिलो महिनामा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०दशमलव८ प्रतिशत, निर्माण क्षेत्रमा ०दशमलव६ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ०दशमलव५ प्रतिशतले वृद्धि भएको छ ।
यद्यपि थोक तथा खुद्रा व्यापार क्षेत्रमा ०दशमलव५ प्रतिशत, सेवा उद्योग क्षेत्रमा १दशमलव५ प्रतिशत र उपभोग्य क्षेत्रमा ०दशमलव०४ प्रतिशतले कर्जा घटेको देखिन्छ ।
यस्तै, कर्जाको प्रकारगत संरचनामा आवधिक कर्जा ०दशमलव२ प्रतिशत, मार्जिन कर्जा २दशमलव७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १दशमलव१ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०दशमलव३ प्रतिशतले बढेको छ ।
तर, हायर पर्चेज कर्जा ०दशमलव१ प्रतिशत, नगद प्रवाह कर्जा ०दशमलव९ प्रतिशत र अधिविकर्ष कर्जा ३दशमलव२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।