arrow

धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्बमा झर्‍यो, नेप्से परिसूचक पनि घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, धितोपत्र बजारको पुँजीकरणमा कमी आएको छ। २०८२ साउन मसान्तसम्ममा बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ, जुन गत वर्षको सोही अवधिको ४७ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँभन्दा कम हो।

कुल गार्हस्थ्य उत्पादनको तुलनामा पनि बजार पुँजीकरणको हिस्सा घटेको छ। २०८१ साउनमा जीडीपीको ८३.४८ प्रतिशत रहेको बजार पुँजीकरण २०८२ साउनमा घटेर ७६.२४ प्रतिशतमा पुगेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचकाङ्क पनि घटेको छ। २०८१ साउन मसान्तमा ३०००.८१ रहेको नेप्से सूचकाङ्क २०८२ साउन मसान्तमा २७८८.३७ मा झरेको छ।

२०८२ साउन मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७४ पुगेको छ, जुन गत वर्षको २६८ को तुलनामा बढी हो। यी कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा धेरै ५२.६ प्रतिशत छ। त्यसपछि जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत र लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा कुल ८ अर्ब २४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्, जसमा साधारण शेयर, बोनस शेयर र हकप्रद शेयर समावेश छन्।

त्यसैगरी, नेपाल धितोपत्र बोर्डले समीक्षा अवधिमा १० अर्ब ३३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको राष्ट्र बैंकले जनाएको छ। यसमा म्युचुअल फन्ड, हकप्रद शेयर र साधारण शेयर रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ