arrow

बालुवाटार बैठक फेरि अनिर्णायक, एमालेलाई सोध्नै पर्ने भो !

मधेसी मोर्चासँगको सम्बन्ध धरापमा

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
netaharu-news-new.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा सत्तारुढ नेपाली काँग्रेस र मधेसी मोर्चासँग परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घन्टा भएको छलफलमा दुबै विषयमा सहमति जुट्न सकेन । अबको एक–दुई दिनभित्रै पुनः बैठक बसी सहमति खोज्ने कुरा भएको नेताहरुले बताएका छन् ।

प्रमुख प्रतिपक्षी एमालेसँग मंगलबार छलफल गरी अर्को निर्णायक बैठक गर्ने कुरा भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा दुबै पक्षको आ–आफ्नो अडानले सहमति जुट्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र स्थानीय निकायको निर्वाचनको विषयलाई एकैसाथ लैजाने प्रस्ताव राखेका थिए । यद्यपि, मोर्चाले संशोधन टुङ्गो नलगाई कुनै पनि निर्वाचन अघि बढ्न नसक्ने बताएपछि त्यस विषयमा दलीय सहमति जुटाउन अर्को बैठक गर्ने कुरा भएको हो ।

प्रधानमन्त्री दाहालले सोमबारको बैठकपछि निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेका थिए । संशोधन र निर्वाचनबारे बुधबारसम्म दलीय परामर्श गरी टुङ्गो लगाउने सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा प्रधानमन्त्रीले संविधान संशोधन र निर्वाचनबारे छलफललाई केन्द्रित गरे । संशोधनको प्रक्रिया पनि अघि बढाउने तर निर्वाचनको दिशामा पनि देशलाई लैजानुपर्ने आवश्यकतामा जोड दिएको नेता श्रेष्ठले बताए ।

मोर्चाले संशोधन प्रक्रियालाई टुङ्ग्याएर मात्रै निर्वाचनमा लाग्नुपर्ने धारणा राखेपछि यो विषयमा मंगलबार वा वुधबार तत्कालै छलफल गरी ठोस निष्कर्ष निकाल्न बैठकको निरन्तरतामा अर्को बैठक बस्ने सहमति भएको छ, श्रेष्ठले भने । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले संशोधन विधेयक र निर्वाचनबारे वृहत र सकारात्मक छलफल भए पनि विषयवस्तुको टुङ्गो नलागेकाले अर्को बैठक बसी सहमति गर्ने निर्णय भएको सुनाए ।

बैठकमा मोर्चाको तर्फबाट निर्वाचनको मिति अहिले घोषणा गर्ने कि नगर्ने तथा स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन गर्ने या नगर्नेबारे छलफल भएको छ । सो विषयमा प्रधानमन्त्रीले गम्भीर रुपमा छलफल गरी आवश्यक निर्णय लिने धारणा राखेको नेता कर्णले बताए । राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले निर्वाचन र संशोधनबारे एमालेसँग पनि छलफल गरी सहमति खोज्ने विषयमा कुराकानी भएको बताए ।

मधेसी मोर्चासँगको सम्बन्ध धरापमा
सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरेको छ । मधेसी मोर्चा सहमत नभएपनि निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको खबरले मधेसी सोर्चासँगको सम्बन्ध धरापमा परेको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रतिपक्षी एमालेसँगको छलफलपछि एक दुई दिनमै निर्वाचनको मिति घोषणको तयारी भइरहेको छ । मधेसी मार्चा निर्वाचनमा जान सहमत नभएका खण्डमा पनि मिति घोषणाको लागि सरकारले परामर्श लिइरहेको बताइँदैछ ।

सोमबार बिहान मात्रै प्रधानमन्त्री दाहालले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई चुनावकाे तयारी गर्न भनेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ