सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन, जानु पनि हुँदैन : योगेश भट्टराई
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २१ शनिबार
2.3k
Shares
काठमाडौँ । सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सञ्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन्ने कानून अनुसार हुनुपर्ने बताएका छन् ।
ललितपुरमा शनिबार आयोजित आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा उनले आफू संसदमा पुगेको सूचना प्रविधिलगायतका कानून बनाएर मात्र नियमन गर्नु पर्छ भन्ने पक्षमा रहेको बताए ।
‘सबै पक्षलाई निर्देशिकाबाट नियमन गर्न सक्दैन भन्नेमा म प्रष्ट छु,’ उनले भने, ‘यसका लागि संसदमा पुगेका विधेयकहरु पास हुनुपर्छ । त्यो पास भएपछि नै सरकारले नियमन शुरु गर्छ भन्ने लागेको थियो। तर निर्देशिकाबाटै काम शुरु भयो ।’
उनले सरकारले निर्देशिकाको आधारमा सामाजिक सञ्जालमाथि शुरु गरेको नियमन र सूचीकृत नभएका सञ्जाल नेपालमा बन्द गरेको भन्दै यो लामो समय नजाने बताए।
नेपालभित्र सेवा दिनेहरु लुज कन्ट्रयाक्टमा आउनु पर्यो भनेर सरकारले नियमन शुरू गरेको र यसले सुविधा दिने र प्रयोग गर्नेहरू जिम्मेवार हुन् भन्ने मनसाय रहेको हुन सक्ने भन्दै २६ सामाजिक सञ्जालमाथि नेपालमा रोक लगाउने कामको प्रतिरक्षा पनि गरे । तर उनले यो अवस्था लामो जान नहुने बताए ।
‘प्रविधि हस्तान्तरण, लगानी लगायतबारे कानून बनिसक्यो । सूचना प्रविधि, साइबर क्राइमबारे कानून बन्ने प्रक्रियामा छ,’ उनले भने ‘सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन, जानु पनि हुँदैन। संसदमा विविध कानून छ । संसदबाट ती कानून बन्नुपर्छ ।’