arrow

आन्तरिक रस्साकस्समा एमाले

एमाले विधान महाधिवेशनमा आउला छुट्टै प्रतिवेदन ? विद्याको बल कति ?

मदन भण्डारीका नामका प्रतिष्ठान र फाउन्डेशनसँगको साइनो के होला ? किन छन् संस्था बदनाम ? फाउन्डेशनसँग पार्टीको समधर्मी सम्बन्ध छ - गुरु बराल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
uml-cpn.jpg

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । काठमाडौँमा हुने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको  छ। महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुनेछन् ।

'निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य' भन्ने मूल नाराका साथ सम्पन्न हुने महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। यी प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण, पार्टीको कार्यदिशा, र 'जनताको बहुदलीय जनवाद' को मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने विषयहरू समेटिएका छन्। यसले 'समृद्ध नेपाल, सुखी नेपाली' को राष्ट्रिय आकाङ्क्षालाई पार्टीको गन्तव्यको रूपमा अगाडि बढाउने मार्गचित्र पनि प्रस्तुत गर्नेछ।

उपाध्यक्ष गुरु बरालले पनि तयारी पूरा भएको जनाए । बिहीबार दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले थप आवश्यक तयारी गर्ने उनले जानकारी दिए । उनले भने,  विधान महाधिवेशनले पार्टीलाई सबै हिसाबका चुनौतीहरूलाई सामना गर्दै अगाडि बढ्नका लागि विगतका हाम्रा नीति कार्यक्रम, विधान र परिणामहरूलाई समीक्षा गर्दै एउटा निष्कर्षमा पुर्याउँछ र आगामी पाँच वर्षका लागि मार्ग प्रशस्त गर्छ ।'

पार्टी अहिले दुई धारमा छ । एक त ओलीलाई आजीवन नेतृत्व सुम्पिने र अर्को विद्यादेवी भण्डारीलाई नेतृत्व दिने । भण्डारीलाई समर्थन गर्ने नेताहरू सार्वनजिनक रुपमा धेरै छैनन् । तर आवश्यकता पर्दा बाहिर निस्कने तयारी गरिरहेका छन् । 

हुनत उनलाई पार्टीले सदस्यता नवीकरण गर्नेमा विवाद निस्केसँगै एमालेलाई चुनौती थपिएको छ । यस्तोमा तोकिएका नेताहरूले बाहेक पनि काउन्टर दिन प्रतिवेदन ल्याउने सम्भावना छ । विशेषगरी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिवेदन ल्याउन सक्छन् ।

तर यसै भन्न सक्ने अवस्था छैन । उनी विद्यातिर लचक छन् । महाधिवेशनका कयौँ प्रतिनिधिले विद्याको विषय उठाउने दाबी गरिएको छ । अहिले एमाले आन्तरिक रस्साकस्सीमा छ ।

के हुन्छ जबजको सिद्दान्त ?
यतिबेला सबैको चाँसो नेपाली कम्युनिष्ट आन्दोलनको जनताको बहुदलीय जनजाद (जबज) को सिद्दान्तलाई लिएर भइरहेको छ । यसको प्रमुख कारण हो यस विचारका प्रतिपादक तत्कालीन नेकपा (माले) का महासचिव मदनकुमार भण्डारी थिए । 

उनको सिद्दान्तले नेपाली भूमिलाई थप सिंचित गर्न नपाउँदै उनको २०५१ सालमा दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा  मृत्यु भयो । उनको विचार मर्न नदिन एमाले नेताहरूले प्रयत्न जारी राखेका छन् । 

खासगरी मदन भण्डारीको निधनपछि उनकी पत्नी विद्यादेवी भण्डारी चर्चामा आइन् । जसरी मदन भण्डारीले तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई हराएर वाहीवाही पाए त्यसरी नै मदनको निधनपछि राजनीतिमा एक कदम अगाडि आएकी विद्याले पछाडि फर्कनु परेको छैन । 

उनी दुई पटक राष्ट्रपति भइन् । फेरि राजनीतिमा फर्कन खोज्दा भने उनलाई सदस्यता दिनबाट रोकिएसँगै जबजको सिद्दान्त के हुन्छ भन्ने अड्कल काटिएको छ । 

किनकि मदनको जबजको सिद्दान्तको प्रचार गर्न र उनको सम्मान गर्न एमालेले विभिन्न राजनीतिक वैचारिक मञ्च, फोरम र शैक्षिक संघसंस्थाहरू खोल्यो । राजनीतिक वैचारिक कामका लागि मदन भण्डारी फाउण्डेशन सञ्चालनमा आयो भने शैक्षिक गतिविधिका लागि मदन भण्डारी स्मृति प्रतिष्ठान ।

निर्माणकालदेखि नै यसको नेतृत्व मदन पत्नी विद्यासँगै केपी शर्मा ओली,  देवराज घिमिरे, गुरु बराल, रोमनाथ ओलीलगायतका नेताहरूले गर्दै आए । महेन्द्रबहादुर पाण्डे, कृष्णगोपाल श्रेष्ठ, डोरमणि पौडेललगायतको पंक्ति पनि आलोपालो नेतृत्वमा रह्यो । 

नेतृत्वमा बढी समय रहने नेतामा पर्दछन् – विद्या, केपी शर्मा ओली र गुरु बराल । ओलीको पार्टीमा खासै भूमिका नहुँदा कार्यकर्ता भेटघाटको थलो फाउण्डेशन नै हुने गर्दथ्यो । 

त्यही फाउन्डेशनलाई अहिले ओलीले मागीखाने भाँडो भनी आलोचना गरेका छन् । नेतृत्वमा लामो समय बसेकाले फाउन्डेशनको हैसियत उनलाई थाहा नहुने कुरै भएन । अहिले विद्यालाई सक्रिय राजनीतिमा आउन नदिन रचिएको षड्यन्त्र स्वरुप ओलीले फाउन्डेशनलाई तथानाम भनेका हुन् । 

एमाले एक नेताका अनुसार ओलीले यति ठूलो आरोप लगाएर आफू पनि बेइमानको भागेदार भएको स्पष्टै भएको बताए । 

फाउन्डेशनसँग पार्टीको समधर्मी सम्बन्ध छ - गुरु बराल
लामो समय नेतृत्व सम्हाल्नेमा बराल पनि पर्छन् । उनले जबजको सिद्दान्त मार्गदर्शक सिद्दान्त भएकाले यसलाई अविचलित रुपले अगाडि बढाउनु पर्ने भन्दै अगाडि बढ्ने नै बताए । 

उनले अहिले मदन भण्डारी फाउन्डेशन र मदन भण्डारी प्रतिष्ठान बहसको विषय नै नभएको दाबी गरेका छन् । उनले भने, 'मदन भण्डारी फाउन्डेशन जबजलाई अध्ययन अनुसन्धानको काममा लागेको जननेता मदन भण्डारीको विचार र व्यक्तित्वलाई प्रकाशमा ल्याउने काममा लागिरहेको संस्था हो । त्योसँग पार्टीको एउटा समधर्मी सम्बन्ध छ । कुनै अन्तर्विरोध त्यस्तो केही छैन ।'

पूर्वराष्ट्रपतिसमेत रहेकी विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने इच्छा सार्वजनिक गरेपछि एमाले अध्यक्ष ओलीले फाउण्डेशनलाई मागीखाने र ठगिखाने भाडोसम्म भन्न भ्याए । यसले पनि पुष्टि गर्छ कि फाउण्डशेन वा प्रतिष्ठानसम्म मदनका नाममा खोलिएका संस्थाहरू के रहेछन् भनेर । 

पूर्व राष्ट्रपति एवं एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता नवीकरण नगराएपछि नेताहरूमा कुनै विचलन आउँछ कि भन्ने प्रश्नमा बरालले भने, 'हैन त्यस्तो केही हुँदैन । त्यो एउटा प्रक्रिया हो । प्रक्रियाबाटै निकास आउँछ ।'

उनले अहिले आएर पार्टीसँग फाउन्डेशन र प्रतिष्ठानलाई जोड्नु आवश्यक नभएको भन्दै सबैले जबजको प्रबर्धनका लागि काम गर्ने दाबी गरे । 

नेता बरालले भने, 'मैले नेतृत्व गरेको मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल हो जुन मोरङको उर्लाबारीमा रहेको छ । विगतमा मैले मदन भण्डारी फाउन्डेशनको उपाध्यक्ष भएर पनि काम गरेको हो । तर यी कुराहरुमा जबजको विकास, त्यसको प्रबर्धनका लागि यी संस्थाहरू र पार्टीको बीचमा कुनै बहस गरिरहनु पर्ने विषय नै होइन । यी सबै संस्थाहरू आफ्ना ठाउँमा क्रियाशील छन् । पार्टी आफ्ना ठाउँमा क्रियाशील छ । सबैले जबजको प्रबर्धन हेतू काम गर्छन् ।'

किन बदनाम छन् फाउन्डेशन र प्रतिष्ठान ?
एमालेमा केपी र विद्याको दूरी अस्वभाविक रूपले बढ्दै जाँदा ओलीकै भाषामा प्रतिष्ठान र फाउन्डेशन मागिखाने वा ठगिखाने भाँडाका नाममा परिभाषित भएको छ । जबकि ओलीका भाषामा ३० वर्षमा कति ब्रम्हलुट भएहोला । 

विद्या, केपी सँगसँगै बराल पनि जोडिए विगत ३० वर्षयमा फाउण्डेशन र प्रतिष्ठानमा । बराल प्रतिष्ठानमा तीन कार्यकाल अध्यक्ष रहे । उनीपछि यतिबेला अध्यक्षमा एमाले केन्द्रीय सदस्य रोमनाथ ओली, उपाध्यक्षमा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल र लेखाप्रमुखमा होमबहादुर थापा छन् । 

मदन भण्डारी स्मृति प्रतिष्ठानसँग बेलाबेलामा कैयौँ प्रश्नहरू उठ्ने गर्दछन् । केही वर्षअघि कारोबारकै कारण एकजना कर्मचारीले क्याम्पस परिसरमा आत्महत्या गरेका थिए । यसबेला प्रतिष्ठानका अध्यक्ष रहेका बरालमाथि आक्रोश खनिएको थियो । 

विभिन्न आर्थिक कारोबारमा मुछिएका अहिलेका कार्यकारी निर्देशक विनोद अर्याल एक्लै हिँडडुलसमेत गर्न नसक्ने एमालेकै नेताहरू बताउँछन् । 

मदन भण्डारीको नाम र सम्मानमा जन्मिएका संस्थामा एमाले बाहेक प्रायः कोही पनि छैन । 

भनिन्छ प्रतिष्ठान फाउन्डेशनको सहयोगमै धेरै नेताहरूको खर्च चल्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ