सीमाको रक्षा गर्न संसद, दल र जनता एकजुट हुनुपर्छ : सांसद बडू [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
449
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षाका लागि संसद्, राजनीतिक दल र नागरिक समाज एकजुट हुनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा लिपुलेकलाई भारत र चीनबीचको व्यापारिक मार्ग बनाउने सहमतिमा स्पष्ट आपत्ति जनाएकोमा धन्यवाद पनि व्यक्त गरे।
सांसद बडूले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ सँगको भेटमा यो अडान राखेकोमा प्रशंसा गरे। उनले सीमा विवादको समाधान कूटनीतिक बहस र छलफलबाटै निकाल्नुपर्नेमा जोड दिए।
बडूले भने, "प्रधानमन्त्रीले चीन भ्रमणमा नेपालको संलग्नता र सहमतिबिना लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमतिप्रति आपत्ति जनाउनु प्रशंसनीय काम हो।" उनले सीमाको सवालमा नेपाली संसद्, राजनीतिक दल र जनता विगतमा जस्तै एकसाथ उभिएकोमा आफू विश्वस्त रहेको पनि बताए।