आफ्नो सुदूर भविष्य बोकेर विदेशिने ग्रामीण भेगका युवाहरुको बाध्यतामात्र होइन एउटा सुनौलो भविष्यको स्वर्णिम सपना पनि हो । अहिले सदूरका गाउँ मात्र होईन प्राय देश भरिका ग्रामीण भेगमा युवा स्वादेशमै रोजगारीका पर्याप्त अवसरहरु नभएपछि विदेशिनु पर्ने बाध्यताका कारण आज ग्रामीण भेगका दुर्गम गाउँहरु सुनसान जस्तै बनेका छन् । पढेलेखेका, सीप सिकेका र श्रम गर्न सक्ने उमेर समूहका युवाहरु विदेशिने लहर रोकिएको छैन । अधिकाशं ग्रामीण भेगमा युवाको उपस्थिति लगभग देखिँदैन । वर्षौदेखि बुबा हजुरबुबाले लगाउँदै आएका खेतबारी बाँझिएका छन् ।
गाउँमा छन् त केवल बूढाबूढी मात्र छन् । अर्कोतर्फ हेर्ने हो भने मुलुकको राजनीति पनि गाउँजस्तै खोक्रो बन्दै गएको छ । युवाहरुलाई चुनावताका देखाएका सपना र गरेका प्रतिबद्धता समेत भाषण र घोषणा पत्रका खोष्टाहरुमा मात्र सिमित छन् । देश भित्रै युवाहरुलाई रोजगारी दिनका लागी राजनितीक ईच्छा शक्ति र हिम्मत वा ईमानदारताको अभावले आज नेपाली युवाहरु रगत संग पैसाको सौदावाजी गरेर आफ्नो उज्वल भविष्यको सपनाका भारी बोकी विदेशिनु परेको छ । एक हातमा पासवर्ट र अर्को हातमा टिकट लिएर जानु पर्ने नेपाली युवाहरुको बाध्यता मात्र होईन राजनीतिप्रतिको वितृष्णा पनि हो ।
दिनप्रतिदिन त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट विदाई गर्दाका ति कहाली लाग्दा क्षणलाई स्मरण गर्ने हो भने पछाडि भक्कानिएका वृद्ध आमा बुबा, जसका आँखाबाट बग्ने अश्रु कहिल्यै नसुकेको धारझैँ बगिरहेका छन् । त्यो दूधेको बालक, जसको न्यानो काख अझै पिताको माया खोजिरहेको छ । तर के गर्नु विदेशिनु नेपाली युवाको बाध्यता छ । यो पीडा कोही नेताले सुन्ने छैनन् , यो मौन क्रन्दन कोही नीतिले रोक्ने छैन् । देशलाई परिश्रम र सपना दिने हातहरू, आफ्नो माटो छोडेर चुपचाप परदेशको यात्रामा हिँडिरहेका छन् । बिडम्वना भन्नु पर्छ । यो विषयमा देश अझै मौन छ । देश अझै बेखबर छ ।
कुनै पनि मुलुकको आर्थिक, सामाजिक र राजनीतिक क्रान्तिका लागि युवा शक्ति एउटा महत्वपूर्ण र अनिवार्य आधार हो । त्यति मात्र होइन, मुलुकको सामाजिक रूपान्तरण, सुशासन र समृद्धिको नायक पनि युवा नै हो । तर विडम्बना, यहाँ युवाशक्ति राजनीतिक दलहरूको चुनाव जित्ने अस्त्रका रूपमा मात्र प्रयोग भयो । नेपाल सरकारले नेपाली युवाको समग्र विकासका लागि २०७२ सालमा युवा ऐन जारी गरि राष्ट्रिय युवा परिषद्ू गठन गर्यो । त्यसैअनुसार, युवा नीति निर्माण भयो, “युवा भिजन २०२५” पनि ल्याइयो । जसको मूल उद्देश्य युवाको सशक्तिकरण, रोजगारी सिर्जना, र देशमै अवसर उपलब्ध गराउनु थियो । तर ती नीति र योजना कागजमै सीमित भइरहेका छन । न कार्यान्वयनमा गम्भीरता देखिन्छ, न त युवामैत्री बजेट र कार्यक्रम नै निर्माण भएको छ ।
जब नीति कार्यान्वयन हुँदैन, तव त्यो योजना सपना बन्छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार, आर्थिक वर्ष २०८१ ÷८२ मा मात्र ८ लाख ३९ हजार २ सय २६ जना नेपाली युवा विश्व श्रम बजारमा गएका छन् । त्यसमध्ये ७ लाख ४४ हजार ८ सय ८१ जना पुरुष र ९४ हजार ४५ जना महिला छन् । तर तथ्यांकको अर्को पाटो अझै गहिरो चिन्ताको विषय छ । तीमध्ये केवल ९३७ जना, अर्थात ०.११ प्रतिशत मात्र उच्च सीपयुक्त छन् । पेशेवर श्रमिक ०.५२ प्रतिशत, अर्धसीपयुक्त १.८८ प्रतिशत, सीपयुक्त ६०.३९ प्रतिशत र अपूर्णतः सीपविहीन २७.१० प्रतिशत । अब कल्पना गरौ त १० जनामध्ये करिब ३ जना कुनै सीप नलिई विदेशिएका छन् । तर यो तथ्यांकमा भारत जाने युवाहरु समावेश छैनन् । विशेषगरी सुदूरपश्चिम, कर्णाली र मधेस क्षेत्रबाट वर्षेनी हजारौं युवा भारततिर लाग्छन्न । केही खुलेआम, केही चोरी (छिपी) त्यसको लेखाजोखा सरकारसंग छैन । ती युवाहरु न त तथ्यांकमा देखिन्छन , न त राज्यका योजनामा पर्छन । यही हो हाम्रो विडम्बना । जहाँ ‘युवाशक्ति राष्ट्रको मेरुदण्ड’ भन्ने भाषण गुञ्जिन्छ, तर त्यो मेरुदण्डलाई देशमै बाँच्ने आधार चाहिँ दिइँदैन । नीति छ, कार्यक्रम छ, ऐन छ, तर योजना, इच्छाशक्ति र प्रतिबद्धता बिना ती सबै कागजी खोष्टा मा सीमित छन् ।
अब पनि नीति मात्रै होइन, नतिजा देखिने काम हुनुपर्छ । युवालाई ‘रोजगारी चाहिएको हो, भाषण होइन’ भन्ने कुरा बुझ्न ढिला भइसक्यो । हामी युवा पनि विचारले विभाजित भयौँ । कोही कांग्रेस, कोही एमाले, कोही माओवादी, समाजवादी वा अन्य कुनै ‘वाद’ का अनुयायी भयौँ । तर देशमा बढ्दो युवा विदेश पलायन रोक्ने एजेन्डा, मुलुकभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना गर्ने प्रतिज्ञा र प्रतिबद्घताका कुराहरुमा हाम्रा नेता तथा राजनितीक दललाई कहिल्यै पनि नत जिम्मेवार बनाउन सक्यौ, न त उनिहरुले जिम्मेवार ढंगले सुनेन र बुझेन । मुलुकमा अझै पनि भ्रष्टाचार, कालोबजारी र महँगीको जन्जीरमा बाधिएको छ । त्यस सँग जोडिएको गरिबीको कथा अझ दर्दनाक र कहालि लाग्दा छन् । तर त्यो अन्त्य गर्न हामी युवा, राजनीतिक दलका दास मात्रै भएर बसिरहेका छौँ । विबेक विहीन अस्तित्वमा, बुझेर पनि बुझ पचाउने, बोल््न सक्ने भएर पनि लाटो, सुन्न सक्ने भएर पनि बहिरो भएर बस्नु पर्ने अबस्था अझै नेपाली युवामा छ । किनकि हामी अझै राजनीतिक दलको ‘झोले मानसिकता’ बाट उठ्न सकेका छैनौँ ।
यसैकारण सारा नेपाली युवाका सपना ,रगत, पसिना र प्रतिभा सहित अहिले सम्म हाम्रो नेतृत्वले लिलाम गर्दै आई रहेका छन् । हामी मौन दर्शक बनेका छौँ । मुलुकमा युवा नीति त छ, तर त्यसलाई कार्यान्वयन गर्ने नैतिक प्रतिबद्धता हाम्रा नेतामा छैन । चुनावको बेलामा ढुंगा हान्ने देखि बूथ कब्जा गर्ने, भोट किन्नेदेखि मतदातालाई बोकेर लैजाने, बूथदेखि कुद्ने मात्र होइन जुध्नेदेखि कुट्ने सम्म सबैमा हामी युवा नेताका हनुमान भयौँ । त्यसको बदलामा हामीले के पायौ र के गुमायौ भन्ने कुराको हिसाव राख्ने ल्याकत राख्ने हामी युवा संग छ कि छैन् । तर युवाहरुका चाहना भने फरक थिए । आफ्नै वृद्ध आमा बुबाको सेवा गर्दै, श्रीमती र सन्तानसँग रमाउँदै, स्वदेशमै रोजगारी गर्न चाहना कस्को नहुँदो हो तर बिवसता र बाध्यताले बिदेशिनुको पिडा पृथक छ । छोराले डिग्री पास गर्याे , इन्जिनियर, डाक्टर, वा अन्य प्राविधिक विषय पढ्यो, तर के गर्नु ? हाम्रो शिक्षा प्रणाली रोजगारमुखी छैन । त्यसैले विदेश जानु अनिवार्य जस्तै बाध्यता बन्यो ।
त्यो पनि कुनै सीप सिकेर होइन, जीवनका उन्नाइसौं वसन्तहरू व्यर्थ पारेर, बेरोजगार उत्पादन गर्ने कारखानाबाट प्राप्त एउटा सर्टिफिकेटको खोस्टो बोकेर बिश्व श्रम बजारमा बेचिनु परेको छ । आज गाउँ सुनसान छ । साँझ परेपछि घर–घरमा बत्ती बल्छ, तर कसैले ढोका ढक्ढक्याक्याउदैन , कसैले सोध्दैन “आमा, भात खाइयो?” उमेरले उत्तरार्धमा पुगिसकेका बुबा–आमालाई एक लोटा पानी दिने हात छैन, एक गास भात खाने संगी छैन । बिरामी हुदाँ औसधी खायौ की भनेर सोध्ने कोही छैन् । छोराहरू छन, तर कहाँ? कतार, दुबई, मलेसिया, कोरिया... आदी ठाउँमा । गाउँ छोडेर उनीहरू रोजगारीको नाममा श्रम बेच्न परदेशिएका छन् । गाउँमा कुनै वृद्धको निधन भयो भने, आजभोलि काँध दिनेको खोजी गर्नुपर्छ । कहिले काँही त मलामी अभावले घाट जान पनि ‘पैसा तिरेर’ मान्छे झिकाउन पर्ने अवस्था नआउला भन्न सकिन्न । यो केवल एउटा गाउँको कथा होइन । यो त हजारौं गाउँहरूको मौन चीत्कार हो । जहाँ समृद्धिको भाषण सुन्न पाइन्छ, तर सास फेर्न मान्छे पाइँदैन त्यही गाउको लुकेको कथाको हो ।
हाम्रा युवाहरू दक्ष, जोशिला, उर्जाशील आफ्नो माटोमा पसिना बगाउने ठाउँ नपाएर परदेशी भूमिमा श्रम बेचिरहेका छन् । त्यही रगत पसिनाको रेमिट्यान्सबाट देशको अर्थतन्त्र चलेको छ । शहरमा गाडी गुडेका छन् । रेस्टुरेन्टमा भोज चलेका छन् । तर सरकार के गर्छ थाहाँ छ ? रेमिट्यान्सको खोक्रो गर्व गर्छ । भाषण ठोक्छ “देश बनिराछ” । हाम्रा अगाडि समृद्धि, विकास, रोजगारी, उद्यमशिलता जस्ता मीठा शब्दहरूको पगरी बाँधिएको छ । तर त्यो पगरी गाउँको यथार्थले खुइल्याइ सकेको छ । भाषण भइरहेकै छन् । तर भोलिपल्ट त्यो भाषण सुन्ने युवा देशमै अर्थात गाउँमा हुने छैनन् । देशको समृद्धि तब हुन्छ , जब आमाले छोरालाई “पानी खाउ” भन्न पाउँ छिन् । जब बुवाले “गोडा दुख्यो” भने छोराले मलम लगाइ दिन पाउँछ । जब गाउँमा मृत्यु हुँदा मलामीको लस्करले परिवारमा सहानुभुतीका बर्षाले मन शान्ती हुनेछ । समृद्धि र विकासको नाराले होइन । आमाको काख र बुबाको काँधले मात्र देश बन्छ ।
पछिल्लो समयमा नेपालको सडकमा आन्दोलनको तातो लहर देखिन्छ ,तर त्यो लहर बेरोजगार युवाको होइन । विडम्बना के भने, आन्दोलनको अग्रमोर्चामा स्थायी जागिर खाने निजामति कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मि उनीहरूलाई संगठन, सुरक्षाको भरोसा, र माग राख्ने ठाँउ छ । तर बेरोजगार युवाको के? हजारौँ सपना बोकेर, लाखौँ ऋणको भारी टाउकोमा राखेर, उनीहरू त्रिभुवन विमानस्थलमा पासपोर्ट समातेर लामबद्ध छन् । जसले देश बदल्ने साहस देखाउनुपथ्र्यो, ऊ त आफ्नै जीवनको आधार खोज्दै कतार, मलेसिया, कोरिया, वा गल्फको तातो मरुभूमिमा पुग्छ ।
देशमा युवाको विद्रोह देखिँदैन भन्ने होइन । विद्रोह छ, तर त्यो मौन छ । त्यो विद्रोह हो देश छोड्ने निर्णय । यो भन्दा ठूलो बिद्रोह मुलकका लागी के हुन सक्छ । त्यो बिद्रोह सडकमा प्रहरीको डण्डा सहेर होइन, पासपोर्टको लाइनमा घण्टौँ उभिएर, वा आमा बाबुको निधारमा हात राखेर गरिएको विद्रोह हो । रातभर आन्दोलनको समाचार हेरेर देशभक्तिको गुनगान गाउने हाम्रा नैतिकवान नेताहरुले कहिले बुझ्ने होला देशमा सबैभन्दा ठूलो आन्दोलन आफ्नै युवाले बिदेशिने चुपचापको यात्राबाट गरिरहेका छन् । त्यहि आन्दोलनको भिड नियन्त्रण गर्ने प्रहरि आन्दोलना उत्रियो भने मुलुकमा के होला । कसैले परिकल््पना गरेको छ र ? नेपाल प्रहरीका सिपाहीको तलब कती छ भनेर । देश भित्र रोजगारी पाई रहेका सिपाहीहरु पनि धामाधम रोजगार छोड्दै परदेशिदै छन् ।
कसैले आफ्ना परिवार र आफ्ना सपना पूरा गर्न, कसैले परिवारको पेट पाल्न, र कसैले त ऋणको भारि तिर्न विदेशिएका कथा र रोदन मात्र होईनन् अव युग पुरुषको खोजी गर्नै पर्छ । यो मौन पलायन रोक्ने जिम्मा अब हाम्रो पुस्ताले लिनै पर्छ । आज पनि लहर यति फैलिएको छ कि कुनै ११र १२ कक्षाको विद्यार्थीलाई सोध्नुहोस “पढेर के बन्छौ बाबु ?” उसले जवाफ एउटै छ, “कोरिया जान्छु” वा “अमेरिका” जान्छ् अर्थात कुनै बिपसित मुलकु जान्छ् । समग्रमा, विदेश जानु नै सबैको सपना बनेको छ । बाध्यता अब फेसनमा परिणत भएको छ । देशको सिर्जनशील जनशक्ति निरन्तर विदेश पलायन हुँदा भोलिका दिनमा मुलुकले भोग्नुपर्ने गहिरा संकट बारे आजै सोच्नु अपरिहार्य छ ।
हिजो टाउकोमा कफन बाँधेर आमूल परिवर्तनको नारा दिएकाहरू आज गुमनाम छन् । तिनीहरुलाई ब्यूझाउनु छ । देशमा गरिबी र बेरोजगारी मात्र होइन महँगी चरममा छ, भ्रष्टाचार क्यान्सरझैँ फैलिएको छ, अराजकता मौलाउँदै छ, र राजनीतिक प्रतिबद्धताको घोर अभाव छ । यदि यो मौनता अब पनि भंग भएन भने गाउँ रित्तिनेछ, बारी बाँझो हुनेछन् र देशको भविष्य कागजमै सीमित हुनेछ । यसका लागि राजनीतिक प्रतिबद्धतामात्र होइन अब कार्यान्वयको दिशामा समेत हाम्रो नेतृत्वले गहन ढंगले लाग्नु पर्ने अबस्था आएको छ । (खप्तडछान्ना ३ बझाङ)