arrow

सप्ताहव्यापी १७औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
vultures-lovers-fighters.jpeg

कञ्चनपुर। कञ्चनपुरसहित देशभर आज (सोमबार) देखि १७औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस सप्ताहव्यापी रूपमा मनाइँदैछ। नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन) को अगुवाइमा भदौ १६ देखि २२ गतेसम्म (सेप्टेम्बर १ देखि ७ तारिख) विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिनेछन्।

गिद्धलाई 'प्रकृतिको कुचीकार' भनिन्छ किनभने यसले मरेका र सडेगलेका जनावरको सिनो खाएर वातावरण सफा राख्नुका साथै हैजा, रेबिज र एन्थ्राक्सजस्ता महामारीहरू फैलनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेल्छ। चरा विज्ञ हिरुलाल डगौराका अनुसार, सुदूरपश्चिममा नौ प्रजातिका र कञ्चनपुरमा आठ प्रजातिका गिद्धहरू पाइन्छन्।

यद्यपि, पछिल्लो समय गिद्धको सङ्ख्या तीव्र रूपमा घटिरहेको छ। दर्दनिवारक औषधि ‘डाइक्लोफेनेक’ को प्रयोग, ठूला रुखको फँडानी, विद्युत् तारमा ठोक्किने, र आहाराको कमीजस्ता कारणहरूले गिद्धको अस्तित्व जोखिममा परेको छ। ‘एसिक्लोफेनेक’, ‘किटोप्रोफेन’ जस्ता अन्य औषधिहरू पनि गिद्धको मृत्युको कारक बनेका छन्।

नेपालमा पाइने गिद्धमध्ये डङ्गर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्ध ‘अति सङ्कटापन्न’ अवस्थामा छन्। त्यस्तै, गोब्रे गिद्ध ‘दुर्लभ’ श्रेणीमा परेको छ।

गिद्ध सचेतना दिवस पहिलोपटक सन् २००५ मा अफ्रिकामा सुरु भएको थियो र सन् २००९ देखि यसलाई विश्वव्यापी रूपमा मनाउन थालिएको हो। यो दिवस मनाउनुको मुख्य उद्देश्य गिद्धको घट्दो सङ्ख्या र यसको संरक्षणको आवश्यकताका बारेमा आम नागरिकलाई सचेत गराउनु हो। यस वर्ष सुदूरपश्चिम प्रदेशमा गिद्ध गणनाका साथै विभिन्न संरक्षण शिक्षासम्बन्धी कार्यक्रमहरू आयोजना गरिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ