काठमाडौं। नेपालको वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) २१ दिनका लागि ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापन गर्नका लागि निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत बजारबाट तरलता खिच्दै आएको छ।
राष्ट्र बैंकले बोलकबोल मार्फत निक्षेप उठाउन लागेको हो। यस बोलकबोलमा ‘क’, ‘ख’, र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलन रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई प्राथमिकता दिइनेछ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ। आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा र ब्याज २०८२ असोज ५ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन गर्न र बजार ब्याजदरलाई व्यवस्थित गर्न यो उपकरण प्रयोग गरिँदै आएको छ। हाल कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।