गलकोट (बागलुङ)। अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध भएको छ। बागलुङ नगरपालिका-१३, कालाखोला भन्ने स्थानमा पहिरो खसेपछि आज बिहानैदेखि सडक यातायात ठप्प भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाका अनुसार, यसअघि पनि यसै स्थानमा ठूलो पहिरो खसेको थियो। ठूलो पहिरोका कारण सडक खुलाउन समस्या भइरहेको छ।
वर्षा रोकिएपछि मात्र कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाले सडक खुलाउन प्रयास गर्ने प्रहरीले जनाएको छ।