arrow

ट्रम्प प्रशासनद्वारा कमला ह्यारिसको सुरक्षा फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
kamala-harris1.jpg

काठमाडौँ । ट्रम्प प्रशासनले पूर्व उपराष्ट्रपति कमला ह्यारिसको गुप्तचर सेवाको सुरक्षा फिर्ता लिएको छ। ह्वाइट हाउसका एक अधिकारीले शुक्रबार यो जानकारी दिएका हुन्।

सीएनएनका अनुसार, तत्कालीन राष्ट्रपति जो बाइडनले डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि ह्यारिसलाई प्रदान गरेको सुरक्षाको समयावधि जुलाई २१ मा समाप्त भएको थियो। ह्यारिसका एक वरिष्ठ सहयोगीले उनी अमेरिकी गुप्तचर सेवाको व्यावसायिकता र समर्पणका लागि आभारी रहेको बताएका छन्।

राष्ट्रपति चुनाव हारेपछि ह्यारिसले आफूलाई सार्वजनिक जीवनबाट केही टाढा राखेकी थिइन्। अब उनी आफ्नो असफल राष्ट्रपतीय दौडको अनुभवमा आधारित ‘१०७ दिन’ नामक पुस्तकको प्रचारका लागि भ्रमण गर्ने तयारीमा छन्। साइमन एन्ड शुस्टरले प्रकाशन गरेको यो संस्मरण सेप्टेम्बर २३ मा अमेरिकामा सार्वजनिक हुँदैछ।

यो पुस्तकमा ह्यारिसले आफ्नो छोटो राष्ट्रपतीय दौडको 'पर्दा पछाडिको विवरण' दिने बताएकी छन्। स्मरण रहोस्, बाइडेनले आफ्नो स्वास्थ्य अवस्थाका कारण दौडबाट नाम फिर्ता लिएपछि ह्यारिस डेमोक्र्याटिक उम्मेदवार बनेकी थिइन्।

गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना कथित शत्रु र राजनीतिक प्रतिद्वन्द्वीलाई लक्षित गर्दै विभिन्न कदम चाल्दै आएका छन्। यसअन्तर्गत उनले अन्य अधिकारी र पूर्व अधिकारीहरूको सुरक्षा स्वीकृति खोसेका, आफूविरुद्ध मुद्दा चलाउने कानुन फर्महरूलाई लक्षित गरेका, र केही विश्वविद्यालयहरूको संघीय अनुदान रोक्का गरेका छन्। गत हप्ता एफबीआईले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको घर र कार्यालयमा छापा मारेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ