आणविक सामग्री नष्ट गर्न दुवै देश सहमत भएको ट्रम्प दाबी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
203
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको कूटनीतिक वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् । एक विशेष कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले इरानमा गाडिएका आणविक सामग्रीहरू निकाल्न र तिनलाई पूर्ण रूपमा नष्ट गर्न दुवै देश सहमत भइसकेको दाबी गरेका हुन् ।
ट्रम्पले वर्तमान युद्ध समाप्त भएलगत्तै अमेरिकी अधिकारीहरूले इरानी पक्षसँगको प्रत्यक्ष समन्वयमा इरानभित्र प्रवेश गरी ती आणविक सामग्रीहरू आफ्नो नियन्त्रणमा लिने जानकारी दिए ।
क्षेत्रीय तनाव र हालैका केही छिटफुट आक्रमणका बाबजुद पनि गत अप्रिलको सुरुदेखि लागू भएको अमेरिका–इरान युद्धविराम अझै कायम रहेको ट्रम्पले स्पष्ट पारे । जारी वार्तामा उल्लेख्य प्रगति भइरहेको जानकारी दिँदै उनले आगामी सप्ताहन्त (विकेन्ड) सम्ममा दुई देशबिच एउटा ऐतिहासिक अन्तरिम सम्झौता हुनसक्ने सङ्केत समेत गरे । वार्ताका क्रममा केही उतारचढाव आए पनि निकट भविष्यमा नै अमेरिकी अधिकारीहरूको प्राविधिक टोली इरान जानेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको ट्रम्पको भनाइ थियो ।
यसैबिच, इरानको सरकारी टेलिभिजन आईआरआईबी ले ओमानको खाडीमा तैनाथ एक अमेरिकी युद्धपोतको कमान्ड सेन्टरलाई इरानी जलसेनाले सफलतापूर्वक निसाना बनाएको दाबी गरेको छ । इरानी जहाजहरू विरुद्ध अमेरिकी सेनाले शत्रुतापूर्ण गतिविधि गरेको र हर्मुज जलसन्धिको नियम उल्लंघन गरेकाले आफूहरूले उक्त जवाफी कारबाही गरेको इरानको तर्क छ ।
यद्यपि, अमेरिकी सेन्ट्रल कमान्डले इरानको उक्त दाबीलाई आधिकारिक रूपमा खण्डन गरेको छ । सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत एक विज्ञप्ति जारी गर्दै अमेरिकाले इरानी सञ्चारमाध्यमले दाबी गरेजस्तो आफ्नो युद्धपोतमा कुनै पनि आक्रमण नभएको र उक्त दाबी पूर्णतः असत्य रहेको स्पष्ट पारेको छ ।