arrow

चर्चामा एआईले बनाएको ट्रम्पको भिडियो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
trump-ai-video.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट तयार गरिएको आफ्नै प्रशंसामा आधारित एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उक्त भिडियो सेयर गरेपछि यसले विभिन्न डिजिटल प्लेटफर्ममा व्यापक चर्चा पाएको छ। 

एक मिनेट लामो उक्त भिडियोमा ट्रम्पलाई विश्वभर लोकप्रिय नेताका रूपमा प्रस्तुत गरिएको छ। गीतका शब्दमा मेक्सिको, इटाली, चीन र भारतलगायत विभिन्न देशका नागरिकहरूले ‘डोनाल्ड ट्रम्पलाई माया गर्छन्’ भन्ने दाबी गरिएको छ भने ट्रम्पको नाम पटक–पटक दोहोरिएको छ।

भिडियोमा एआई प्रविधिको प्रयोग गरी ट्रम्पलाई विभिन्न काल्पनिक र अनौठा दृश्यमा देखाइएको छ। उनी प्याराग्लाइडिङ गरिरहेको, चन्द्रमामा अन्तरिक्ष पोसाक लगाएर उभिएको, सिंह र ऊँट चढेको, भारतको सडकमा मोटरसाइकल चलाएको तथा इटालीको प्रसिद्ध ‘लिनिङ टावर अफ पिसा’ अगाडि उभिएको दृश्य समावेश गरिएको छ। साथै आफ्नै अनुहार अङ्कित पिज्जा खाइरहेको दृश्य पनि भिडियोमा राखिएको छ।

उक्त गीत न्यूयोर्कबाट रिपब्लिकन पार्टीका कंग्रेस उम्मेदवार तथा ट्रम्प समर्थक एन्थोनी कन्स्टान्टिनोले तयार गरेका हुन्। ट्रम्पले भिडियोसँगै कन्स्टान्टिनोको सन्देश पनि पुनः सेयर गरेका छन्, जसमा उनले आफूले राष्ट्रपति ट्रम्पका लागि यो गीत तयार पारेको र उनको समर्थन पाएकोमा गर्व लागेको उल्लेख गरेका छन्। अनौठा दृश्य र ट्रम्पको प्रशंसामा केन्द्रित गीतका कारण भिडियोले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया बटुलिरहेको छ।

 ट्रम्पले आफ्नो राजनीतिक छवि र लोकप्रियतालाई उजागर गर्ने उद्देश्यले ट्रुथ सोसलमार्फत यस्ता मिम, भिडियो तथा प्रयोगकर्ताले बनाएका डिजिटल सामग्रीहरू नियमित रूपमा सेयर गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ