पर्सामा १५२ जनामा हैजा पुष्टि, संक्रमित भेट्न अस्पतालमै पुगे कांग्रेस महामन्त्री थापा
दीपेन्द्र चौहान,
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
2.9k
Shares
वीरगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापा शुक्रबार नारायणी अस्पताल पुगेका छन् । पर्सामा बढ्दै गएको हैजा सङ्क्रमणबीच थापा अस्पतालमा उपचाररत बिरामीसँग भेटघाट र अस्पतालको अवस्थाबारे जानकारी लिन पुगेका हुन् ।
पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका थापाले बिरामीलाई सरकारले सबै प्रकारको सहयोग गर्ने आश्वासन दिए । उनले सरकारलाई तुरुन्तै राहत प्याकेज घोषणा गर्न आग्रहसमेत गरे । साथै स्वास्थ्य मन्त्रालयसँग मिलेर हैजा विरुद्धको खोप छिट्टै ल्याइने विश्वास दिलाए ।
अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताका अनुसार थापाले नारायणी अस्पताललाई ५०० शय्यामा विस्तार गर्ने विषयमा पहल गर्ने बताए ।
मधेस प्रदेशको भ्रमणमा आएका थापा हैजाले प्रभावित वीरगञ्जवासीको अवस्था बुझ्न अस्पताल पुगेका हुन् । अहिलेसम्म पर्सा जिल्लामा १५२ जनामा हैजा पुष्टि भइसकेको छ।