लण्डनमा भव्य नेपाली मेला: १६औँ संस्करणमा मानव धर्म सोसाइटीको विशेष प्रस्तुति
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
1.1k
Shares
लण्डन। नेपाली भाषा, संस्कृति र मौलिकतालाई विश्वसामु चिनाउने उद्देश्यले बेलायतमा आयोजना गरिएको १६औँ नेपाली मेला भव्यताका साथ सम्पन्न भएको छ। लण्डनको केम्प्टन पार्कमा भएको यस मेलामा १३ हजारभन्दा बढी नेपालीको उपस्थिति रहेको थियो।
मेलामा मानव धर्म सोसाइटी युकेले विशेष प्रस्तुति दिएको थियो। सोसाइटीका अध्यक्ष नुर थापाले मानव धर्मका प्रणेता श्री सतपालजी महाराजले विश्वभर फैलाउन खोजेको भाइचारा र शान्तिको सन्देश प्रस्तुत गरे। यस क्रममा झाँकी, र्याली, स्वागत नृत्यसहित मानव धर्मको मूल उद्देश्य र समाजसेवाका कार्यहरूबारे पनि जानकारी दिइएको थियो।
बेलायतस्थित तमु धिं युके र नेपालका लागि नेपाली दूतावासको संयुक्त आयोजनामा भएको यस मेलालाई बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे र विशिष्ट अतिथि कुलमान घिसिङले सम्बोधन गरेका थिए।
मेलामा बेलायतमा रहेका ४४ वटा विभिन्न संस्थाहरूले झाँकी, र्याली र मौलिक सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए। साथै, करिब ७० वटा संस्था तथा व्यवसायले आ-आफ्नो स्टल राखेका थिए। सहभागीहरूको भनाइअनुसार, यस वर्षको कार्यक्रम विगतका वर्षहरूभन्दा निकै सफल र भव्य रहेको थियो।