अमेरिकाबाट फिर्ता भए नेपालका दुई अमूल्य प्राचीन मूर्ति
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
332
Shares
काठमाडौँ । नेपालबाट विभिन्न समयमा गैरकानुनी रूपमा चोरी गरी अमेरिका पुर्याइएका दुई वटा अत्यन्तै अमूल्य एवं ऐतिहासिक मूर्तिहरू नेपाललाई औपचारिक रूपमा फिर्ता गरिएको छ। न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित एक विशेष हस्तान्तरण समारोहका बिच न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणि र नृत्यदेवीका मूर्तिको स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। समारोहमा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी र म्यानहटन सरकारी वकिलको कार्यालयअन्तर्गतको पुरातात्त्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले हस्तान्तरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे।
अमेरिकी गृह सुरक्षा अनुसन्धान निकाय तथा अन्य साझेदार संस्थाहरूको कडा मिहिनेत र खोजीपछि यी दुई ऐतिहासिक सम्पदाहरू फेला पारिएको हो। महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्ति अनुसार तेह्रौँ शताब्दीको कास्य पद्मपाणिको मूर्ति काठमाडौँस्थित थमबहिल (विक्रमशील महाविहार, भगवानबहाल) को अनुपम कलाकृति मानिन्छ, जसको अन्तिम तस्बिर सन् १९७१ मा नेपालमै छँदा लिइएको अभिलेख छ।
त्यसपछि सन् १९७१ र १९७७ को बिचमा कुनै समयमा यसलाई अवैध रूपमा तस्करी गरेर अमेरिका पुर्याइएको ठानिएको छ। त्यसैगरी, सोह्रौँ शताब्दीको काठबाट निर्मित नृत्यदेवीको मूर्ति ललितपुरको इबहा बहीको उत्कृष्ट काष्ठकलाको नमुना हो। यो मूर्ति सन् १९६९ र १९८३ को बिचमा चोरी भएको अनुमान छ, जसलाई पछि न्युयोर्कस्थित प्रख्यात महानगर सङ्ग्रहालयबाट बरामद गरिएको थियो।
समारोहमा बोल्दै महावाणिज्यदूत भण्डारीले नेपाल सरकार र नेपाली जनताका तर्फबाट अमेरिकी सरकार, अनुसन्धानकर्ता, सङ्ग्रहालय तथा सम्पदा संरक्षण अभियन्ताहरूप्रति विशेष आभार प्रकट गरे। उनले सबैको संयुक्त प्रयासबाट मात्रै यी अमूल्य सांस्कृतिक सम्पदाको खोजी र स्वदेश फिर्ती सम्भव भएको बताए।
नेपाल र अमेरिकाबिच सांस्कृतिक सम्पदाको अवैध ओसारपसार नियन्त्रणका लागि विकसित हुँदै गएको यो सहकार्य अन्तर्राष्ट्रिय साझेदारीको एउटा उत्कृष्ट उदाहरण भएको र यसले साझा सांस्कृतिक सम्पदा संरक्षणप्रतिको प्रतिबद्धतालाई दर्शाउने उनको भनाइ थियो। यसका साथै, उनले अमेरिकास्थित नेपाली समुदाय र विशेष गरी 'नेवा गुठी न्युयोर्क' लाई नेपालका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा पुर्याएको निरन्तर योगदानका लागि धन्यवाद दिए।
हस्तान्तरण गरिएका दुवै प्राचीन सम्पदाहरूलाई जुन २५ मा नेपाल पठाइने तयारी भइसकेको छ। यसको ढुवानी र व्यवस्थापनको सम्पूर्ण कार्य नेपाली महावाणिज्यदूतावास र नेवा गुठी न्युयोर्कको समन्वयमा हुनेछ भने गुठीका प्रतिनिधिहरू स्वयम् ती सम्पदाहरूसँगै नेपाल आउनेछन्। काठमाडौँ आइपुगेपछि ती मूर्तिहरूलाई पुरातत्त्व विभाग लगायतका सम्बन्धित सरकारी निकायलाई विधिवत् रूपमा हस्तान्तरण गरिनेछ।
उक्त समारोहमा न्युयोर्क सरकारी वकिलको कार्यालय, गृह सुरक्षा अनुसन्धान निकाय, नेवा गुठी, मेट्रोपोलिटन म्युजियम, प्राध्यापक, नेपाली समुदायका सदस्य, सम्पदा संरक्षणकर्मी तथा सञ्चारकर्मीहरूको ठुलो उपस्थिति रहेको थियो।