पोर्चुगल जनसम्पर्क समितिमा प्रवक्ता चालिसेले भने - कांग्रेस पुनः बीपीकै मार्गमा अघि बढिरहेको छ
हाम्रा कुरा
प्रकाशित २०८३ साउन २ शनिबार
475
Shares
पोर्चुगल । नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेको प्रमुख आतिथ्यमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा जनसम्पर्क समिति पोर्चुगलका संस्थापक अध्यक्ष तथा कांग्रेस महासमिति सदस्य पूर्णबहादुर हमाल, पूर्व अध्यक्ष लक्ष्मी सापकोटा, महाधिवेशन प्रतिनिधि विष्णुबहादुर क्षेत्री तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तिलक गैरे विशिष्ट अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा एनआरएनएका अध्यक्षसहित जनसम्पर्क समितिका नेता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता चालिसेले विदेशमा रहेका नेपालीहरूको योगदान नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको ज्ञान, सीप र लगानीलाई देश विकासमा उपयोग गर्न नेपाल सरकारले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए ।
उनले गैरआवासीय नेपालीका मुद्दाप्रति नेपाली कांग्रेस सकारात्मक र संवेदनशील रहेको बताउँदै उनीहरूका जायज माग सम्बोधन गर्न पार्टीले सरकारसमक्ष प्रभावकारी रूपमा दबाब सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
बौद्धिक नेताका रूपमा परिचित चालिसेले विभिन्न युरोपेली देशहरूको विकास मोडेल प्रस्तुत गर्दै नेपालले पनि सही नीति, सुशासन र दीर्घकालीन सोचका आधारमा युरोपस्तरको विकास हासिल गर्न सक्ने धारणा राखे । उनले जननायक बीपी कोइरालाको नीति, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यताबाट प्रेरित हुँदै नेपाली कांग्रेस पुनः त्यही मार्गमा अघि बढिरहेको स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष पूर्णबहादुर हमालले नेपाली कांग्रेसको वर्तमान नेतृत्वप्रति आमजनताको सकारात्मक धारणा रहेको उल्लेख गर्दै यही रूपान्तरण भएको कांग्रेसले नेपाली जनताको जीवनस्तर परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, एनआरएनए उपाध्यक्ष तिलक गैरेले गैरआवासीय नेपालीहरूको हकहित संरक्षणका लागि नेपाल सरकार अझ बढी उत्तरदायी बन्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि नेपाली कांग्रेसले सरकारलाई आवश्यक दबाब दिनुपर्ने आग्रह प्रवक्ता चालिसेसमक्ष राखे।
नेपाली जनसम्पर्क समिति पोर्चुगलका उपसभापति विपिन अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दिपेश विष्टले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रमोद पोखरेलले व्यक्त गरेका थिए ।
कार्यक्रमको सफल व्यवस्थापन तथा समन्वयमा कार्यसमिति सदस्य सज्जन हमालको विशेष सक्रिय भूमिका रहेको आयोजकले जनाएको छ।