नेपालमा कोरियन कम्पनीले हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापना गर्ने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १२ बिहिबार
853
Shares
काठमाडौँ । नेपालमा हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापनाका लागि लगानी बोर्ड नेपाल र दक्षिण कोरियाको जी–फाइलोस को–अपरेटिभ लिमिटेडबीच समझदारीपत्रमा (एमओयू) हस्ताक्षर भएको छ। यस सम्झौतासँगै नेपालमा पहिलोपटक यो प्रविधि भित्रने सम्भावना बढेको छ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा दुई पक्षबीच विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने सहमति भएको हो। यो परियोजना सफल भएमा नेपालमा हरित हाइड्रोजन उत्पादनको ढोका खुल्नेछ।
लगानी बोर्डका अनुसार, फाइलोस कम्पनीले ७ अर्ब रुपैयाँभन्दा बढी लगानीको प्रस्ताव गरेको छ। यसअन्तर्गत, कम्पनीले सुरुमा २० मेगावाट क्षमताबाट हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखेको छ। कम्पनीले नेपालको खेर गइरहेको जलविद्युत् प्रयोग गरी इलेक्ट्रोलाइसिस विधि (पानी र बिजुलीको रासायनिक प्रक्रिया) मार्फत हरित हाइड्रोजन उत्पादन गर्ने योजना बनाएको छ। उत्पादित हरित हाइड्रोजनलाई स्टिल, मल उद्योग, अमोनियम नाइट्रेट उत्पादन र भण्डारण लगायतका क्षेत्रमा प्रयोग गर्न सकिनेछ।
यो परियोजनाले नेपालमा वातावरणमैत्री उद्योग विस्तार, रोजगारी सिर्जना र दिगो ऊर्जा सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। लगानी बोर्डको जेठ १३ मा बसेको बैठकले फाइलोसलाई विस्तृत सम्भाव्यता अध्ययनको अनुमति दिएको थियो।