काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिका छिर्ने आप्रवासीमाथि झनै कडा एवं आक्रामक भएर अगाडि बढेका छन् । उनले अमेरिका छिर्ने आप्रवासीमाथि कडा जाँच गर्न निर्देशन दिइसकेका छन् ।
नवनियुक्त रक्षा मन्त्री जेम्स म्याटिसलाई शपथ खुवाउने क्रममा ट्रम्पले कट्टर इस्लामिक अतिवादीलाई अमेरिकाभन्दा टाढा राख्न आप्रवासीमाथि कडाई गर्न निर्देशन दिएका हुन् ।
आफ्नो देशमा शरण माग्न आउनेहरुमा पनि सिरियालीको तुलनामा ईसाइलाई प्राथमिकता दिने धारणा उनले व्यक्त गरे । अर्को सूचना जारी नभएसम्म सिरियालीलाई अमेरिका छिर्न प्रतिबन्धसमेत लगाएका छन् ।
उनको यो कदमले भने अमेरिकाले विश्वमा धर्मको लडाइँ सुरु गर्ने संकेत दिएको प्रतिक्रिया आउन थालेको छ ।
ट्रम्पले अरु ६ मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने पनि बताए ।
आफ्नो देश र देशवासीलाई माया र सहयोग गर्ने मुलुकका जनतालाई भने आफ्नो देशमा आउन दिने पनि उनले बताए ।
ट्रम्पको यो कदमले धेरै रुष्ट भएका छन् । नोबल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवतीमलाला युसुफजाइले ट्रम्पको यो कदमले आफूलाई निकै मर्माहत बनाएको प्रतिक्रिया दिएकी छिन् । उनले भनेकी छिन्, ‘मुटु टुक्रियो’ ।