नेपालबाट उच्च शिक्षाका लागि विदेशियो एक खर्ब ३८ अर्ब रुपैयाँ
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
588
Shares
काठमाडौँ । नेपालमा विभिन्न विश्वविद्यालय र शैक्षिक संस्था हुँदाहुँदै पनि उच्च शिक्षाका लागि ठूलो मात्रामा नेपाली रुपैयाँ विदेशिने क्रम जारी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार, शिक्षाका लागि मात्रै १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको छ। यो रकम अघिल्लो आर्थिक वर्ष (२०८०/८१) मा विदेशिएको १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ भन्दा बढी हो।
केन्द्रीय बैंकका अनुसार, समीक्षा अवधिमा सेवा खाताअन्तर्गतको भ्रमण खर्च (व्यय) १८.१% ले बढेर २ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो खर्च १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ थियो। यसले गर्दा आर्थिक वर्ष २०८१/८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँले घाटामा रहेको छ, जुन अघिल्लो वर्ष ५५ अर्ब ८६ करोड रुपैयाँ घाटामा थियो।
यद्यपि, भ्रमणबाट हुने आम्दानी (आय) मा भने सामान्य वृद्धि देखिएको छ। समीक्षा वर्षमा भ्रमण आय ७.७% ले बढेर ८८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ८२ अर्ब ३३ करोड रुपैयाँ थियो।