पानीको अभाव र असन्तुलन मानव जीवनमै ठूलो संकट : प्रधानन्यायाधीश राउत
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
651
Shares
काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पानीको संरक्षण, संवर्द्धन र सदुपयोग अहिलेको सबैभन्दा गम्भीर र आवश्यक एजेण्डा भएको उल्लेख गरेका छन् ।
नेपाल पानी सदुपयोग फाउण्डेशनले आयोजना गरेको ‘राष्ट्रिय स्रोत रक्षक २०८२ तथा ८७औँ पानी सत्सङ्ग कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण देखिएको पानीको अभाव र असन्तुलन मानव जीवनमै ठूलो संकटको कारण बन्नसक्ने बताए ।
प्रधानन्यायाधश राउतले भने, “पानी नभई नहुने चिज हो, हामीले सेताम्मे हिमाल गुमाउँदै गएका छौँ, अब ती कालापत्थरमा परिणत हुँदै गइरहेका छन् । जलवायु परिवर्तनले हाम्रो पानीको स्रोतमाथि नै गम्भीर असर पारिरहेको छ । यस्तो अवस्थामा पानीको सदुपयोग मात्र नभई संरक्षण र संवर्द्धन अपरिहार्य छ ।”
पानी एक प्राकृतिक स्रोत मात्र नभइ मानव सभ्यता र प्रकृतिको निरन्तरतासँग सम्बन्धित जीवनदायिनी तत्वका रूपमा रहेकाले यसको दीर्घकालीन संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
प्रधानन्यायाधीश राउतले मानव जीवनको दिगोपन, प्राकृतिक सन्तुलन र समृद्धिको मूल आधारको रूपमा पानीलाई लिनुपर्ने आवश्यकता औँल्याए ।
“हामीले अहिले नै सचेत भई पानीको उचित व्यवस्थापन गर्न नसके हाम्रो भविष्य अन्धकारमय हुनसक्छ । यसैले पानीको संरक्षण हाम्रो भविष्यसँग प्रत्यक्ष जोडिएको विषय हो । यसमा सबै गम्भीर बनौँ”, उनले भने ।
प्रधानन्यायाधीश राउतले पानीको सामाजिक, आर्थिक र पर्यावरणीय महत्त्वमाथि चर्चा गर्दै संविधान र कानुनद्वारा सुनिश्चित गरिएको प्राकृतिक स्रोतमाथिको हक कार्यान्वयनमा राज्य गम्भीर बन्नुपर्ने उल्लेख गरे ।
उनले पानी केवल घर-परिवारको आवश्यकता पूरा गर्ने विषय मात्र नभइ राष्ट्रिय समृद्धि र दिगो विकासको मेरुदण्ड भएको धारणा राखे ।
फाउण्डेशनका अध्यक्ष डा ङमिन्द्र दाहालले हाल देशभर पानीको असमान वितरण, भू-उपयोगको विकृति, प्रदूषण र असहज सहरीकरणका कारण पानीक स्रोतहरू जोखिममा परेको बताए ।
उनले भने, “प्राकृतिक स्रोत संरक्षणको उत्तरदायित्व सबै नागरिकको हो । पानीको संरक्षण र सदुपयोग भविष्यसँग जोडिएकाले सबैले मिलेर स्रोत जोगाउनुपर्ने बेला आएको छ ।”
कार्यक्रममा जलस्रोत, वातावरण तथा जलवायु क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि, विज्ञ, अभियन्ताहरूले नेपालमा पानीको स्रोत संरक्षणमा जनचेतना, नीतिगत पहल, प्रविधिको प्रयोग र स्थानीय तहको सक्रियता आवश्यक रहेकामा जोड दिएका थिए ।
कार्यक्रममा विद्वान लेखक एवं पूर्वजलस्रोत सचिव भुवनेशकुमार प्रधानलाई पानीलगायत राष्ट्रिय स्रोत संरक्षणमा विशिष्ट योगदान गरेको भन्दै राष्ट्रिय स्रोतरक्षक सम्मान प्रदान गरिएको थियो । रासस