काठमाडौं । गएको मंसिरमा संघीय समाजवादी फोरमबाट ५ केन्द्रीय सदस्यसहित भ्रातृ संगठनका केही कार्यकर्ता एमाले प्रवेश गरेपछि उपेन्द्र यादव नेतृत्वको संघस्य समाजवादीका उच्च तहका नेताहरुबीच असमझदारी चुलिँदै गएको छ । पार्टीभित्रको आन्तरिक बेमेलका कारण सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई जसरी पनि पार्टीबाट निकाल्न मोर्चाबन्दी सुरु भएको छ ।
तत्कालीन संघीय प्रेस फोरमका उपाध्यक्ष सुकदेव चामलिङ तथा ओमकृष्ण प्रसाई, राजेन्द्र खनालसहितका टिमले राजीनामा दिएसँगै श्रेष्ठ पार्टीभित्र अप्ठ्यारोमा परेका छन् । उनीहरु मध्ये चामलिङ वरिष्ठ नेता अशोक राईका अघोषित प्रेस संयोजक जस्तै थिए भने, प्रसाईं र खनाल अध्यक्ष उपेन्द्र यादवका विश्वासिला कार्यकर्ता मानिन्थे ।
अध्यक्ष र वरिष्ठ नेता निकटका कार्यकर्ताले पार्टी परित्याग गरेसँगै डाकिएको आकस्मिक पदाधिकारी बैठकमा समेत सहअध्यक्ष श्रेष्ठले चित्तबुझ्दो जवाफ नदिएपछि सबै रुष्ट बनेका बतान्छ । अहिले संघीय समाजवादीबाट सहअध्यक्ष श्रेष्ठलाई निकाल्नेमा सबै एकमत देखिएका छन् ।
नयाँशक्ति पार्टीसँग एकीकरण भए श्रेष्ठलाई केन्द्रीय सदस्यमा झार्ने तयारी पनि भित्रभित्रै हुन थालेको बताइँदैछ । एकीकरण नभए आउँदो महाधिवेशनबाट श्रेष्ठलाई हुत्याउने रणनीतिमा प्रायः सबै एक मत भएका स्रोतले बताएको छ । यसको मूलकारण पार्टी संयन्त्र र संगठन सहअध्यक्ष श्रेष्ठकै कारण दिनप्रति दिन बिग्रदै जाने निष्कर्ष निस्कनु रहेको एक केन्द्रीय नेताले बताए ।
सो दिनको पदाधिकारी बैठकमा आफ्नै कारणले पार्टी परित्याग गरी एमाले प्रवेश गरेको निष्कर्ष निस्केपछि श्रेष्ठले उपत्यकाका तीनै जिल्लाका नेवारी समुदायका नेताहरुको गोप्य भेला डाकेका थिए । उनले सो भेलामा आफू सशक्त भएमात्रै सबैलाई जोगाउन र जिम्मेवारी भने जस्तो दिन सकिने भएकाले सशक्त एकताबद्ध भई बस्न भनेको स्रोतको खुराक छ ।
एमाले छिरेकाबीच पनि विभाजन
संघीय समाजवादीबाट एमाले प्रवेश गरेकाहरुको जिम्मेवारी हालसम्म टुंगो नलागेपछि उनीहरुबीचमै बेमेल भएको छ । एमालेले एक वैकल्पिक केन्द्रीय सदस्यसहित सम्मानजनक समायोजन गरिदिने भनेपनि हालसम्म भने अनुसारले जिम्मेवारी नतोकिँदा आपसमा फाटो आउने देखिएको छ ।
पहिचानको आन्दोलनमा खरो देखिने गरेका तत्कालीन प्रेस फोरम उपाध्यक्ष चामलिङ युवा संघमा समायोजन हुने भनिएपनि पूर्वेलीको टिम लिएर माओवादी केन्द्रमा भित्रिने कसरतमा छन् । उनी एमाले प्रवेशपछि पनि खासै उत्साही नभएका बताइएको छ ।
उनलाई पछिल्लो समय एमालेभित्रै रहेकाहरुले समेत पार्टीमा रहिरहनेमा शंका गरेपछि माओवादी केन्द्र छनोट गरेका छन् । योसँगै एमाले प्रवेश गरेको टिमबाट समेत उनी टाढिन थालेका छन् ।