काठमाडौं । नेपालमा भारतबाट आयात हुने विद्युतीय गाडी (ईभी) आयातमा वृद्धि भएको छ ।
विशेषगरी नेपालमा चीनबाट धेरै ईभी गाडी भित्रिने भए पनि बाढी पहिरोका कारण उत्तरतर्फका दुवै नाका रसुवागढी र तातोपानी ठप्प भएपछि भारतबाट इभी आयातमा वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा नेपालमा भारतबाट ८५ ओटा र चीनबाट ६० ओटा गरी कूल एक सय ६० ओटा चारपांग्रे इभी आयात भएका छन् । अघिल्लो वर्षको तुलनामा चीनबाट आयात हुने ईभी सङ्ख्या घटेको देखिएको छ ।
अघिल्लो आव २०८१/८२ को सोही अवधिमा नेपालमा कुल ३८१ ओटा इभी आयात भएका थिए । जसमध्ये चीनबाट २०२ ओटा र भारतबाट एक सय ७८ ओटा मात्रै आयात भएको विभागको तथ्यांकले देखाएको छ ।
नाडा अटोमोबाइल्स एशोसिएसनका अनुसार बाढी पहिरोका कारण उत्तरतर्फका दुबै नाका रसुवागढी र तातोपानी ठप्प भएपछि भारतीय इभी आयातमा वृद्धि भएको देखिएको हो ।
गत असार २४ मा नेपाल-चीन सिमास्थीत लेहेन्दे खोलामा आएको विनकाशकारी बाढीले नेपाल-चीन जोड्ने मित्तेरी पुलसमेत बगाएपछि रसुवागढी बाट दुई देशबिच हुने व्यापार ठप्प छ ।
त्यसैगरी अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा पहिरो खसेर ठप्प बनेको तातोपानी नाका १८ दिनपछि बल्ल सञ्चालनमा आएको छ ।