काठमाडौँ। नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज (आइतबार) ५० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। यो निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत २१ दिनको अवधिका लागि खिच्न लागिएको हो।
हाल वित्तीय प्रणालीमा कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। केन्द्रीय बैंकले बजारको ब्याजदरलाई व्यवस्थित गर्न नियमित रूपमा निक्षेप सङ्कलन र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ।
राष्ट्र बैंकबाट इजाजत प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस बोलकबोलमा सहभागी हुन पाउनेछन्। निक्षेप रकमको बाँडफाँट बोल गरिएको ब्याजदरको क्रमअनुसार सबैभन्दा कम दरमा बोल गर्ने संस्थालाई प्राथमिकता दिई गरिनेछ। बोलकबोलबाट निर्धारित हुने यो निक्षेपको सावाँ र ब्याज २०८२ भदौ २९ गते भुक्तानी हुनेछ।
केन्द्रीय बैंकको कार्यविधिअनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन गर्न र बजार ब्याजदरलाई व्यवस्थित गर्न राष्ट्र बैंकले आवश्यकताअनुसार बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप सङ्कलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ।