'पोखरा विमानस्थल अनियमिततामा सरकार र अख्तियारको मौनताले भ्रष्टाचार संरक्षणमा संलग्नताको आशंका' [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
885
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमिततासम्बन्धी सार्वजनिक लेखा समितिको प्रतिवेदन कार्यान्वयन नहुँदा सरकार नै भ्रष्टाचार संरक्षणमा संलग्न रहेको आशंका बढेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद केसीले संसदीय समितिहरू बेवारिसे भएका बताए। उनले समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष नभई आधिकारिक निर्णय भएको भन्दै त्यसलाई बेवास्ता गर्नु संसदीय मर्यादामाथि प्रश्न उठाउनु भएको बताए।
सांसद केसीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले समितिको प्रतिवेदनलाई 'प्रमाणविहीन' र 'मनगढन्ते' भनेर प्रतिवाद गरेकोमा सरकारको ध्यानाकर्षण गराए। उनले प्रतिवेदन कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारलाई पठाइए पनि दुवै निकाय मौन रहनु दुःखद भएको बताए।
सार्वजनिक लेखा समितिको प्रतिवेदनमा नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी कन्स्ट्रक्शनको मिलेमतोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का प्रक्रियादेखि निर्माणसम्म अर्बौं रुपैयाँ भ्रष्टाचार भएको उल्लेख छ। सांसद केसीले अख्तियारलाई सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही र निलम्बन प्रक्रिया अघि बढाउन आग्रह गरे।