विद्यालय शिक्षा विधेयक छिटो पारित गर्नुपर्छ: सांसद हजारा
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
1.7k
Shares
काठमाडौँ। नेकपा एमालेका सांसद प्रभु हजाराले अहिले देशकै नजर विद्यालय शिक्षा विधेयक, २०८० मा रहेकाले यसलाई जतिसक्दो छिटो पारित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले ५२ वर्षपछि समितिमा गहन छलफल भएको यो विधेयक अन्तिम चरणमा पुगेको बताए। सबै सरोकारवालाहरूको यसमा ठूलो चासो रहेकोले पनि विधेयक छिटो टुङ्ग्याउनुपर्ने उनको भनाइ थियो।
सांसद हजाराले विधेयकका केही बुँदाहरूमा सुधारका लागि सुझाव पनि दिए। उनले ‘प्रारम्भिक बालविकास परिषद्’ सम्बन्धी दफामा कक्षा १२ को सट्टा १० कक्षा नै उपयुक्त हुने बताए। त्यस्तै, विद्यालय व्यवस्थापन समितिमा महिला र दलितको प्रतिनिधित्वको सन्दर्भमा ‘दलित’ शब्द छुटेको भन्दै समावेशी मात्रै भन्दा समस्या आउने भएकाले शब्द नै स्पष्ट रूपमा आउनुपर्नेमा जोड दिए। उनले आवासीय छात्रवृत्तिको विषयमा पनि आफ्नो धारणा राखे।