काठमाडौँ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ (अमेरिकी केन्द्रीय बैङ्क) की गभर्नर लिसा कुकलाई राजीनामा दिन आग्रह गरेका छन्। फेडका अध्यक्ष जेरोम पावेलले ब्याजदर नघटाएको भन्दै ट्रम्पले बारम्बार आलोचना गरिरहेका बेला यो निर्देशन आएको हो।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा ब्लुमबर्गको एक समाचार रिपोर्ट साझा गर्दै “अब, कुकले गभर्नर पदबाट राजीनामा दिनुपर्छ,” भनी लेखेका छन्। उक्त रिपोर्टमा एफएचएफएका निर्देशक बिल पुल्टले अमेरिकी महान्यायाधिवक्तालाई पत्र लेख्दै कुकले आपराधिक काम गरेको हुन सक्ने भन्दै उनीमाथि अनुसन्धान गर्न आग्रह गरेको उल्लेख छ।
ट्रम्प प्रशासनले राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध ऋण दिँदा अनियमितता र ठगीको आरोप लगाएको छ। ट्रम्पले पावेललाई ‘बौद्धिक रूपमा असक्षम’ र ‘मूर्ख’ समेत भनिसकेका छन्।
फेडले यस वर्ष कर्जा दरमा कुनै परिवर्तन गरेको छैन। कुक सन् २०२२ मेमा फेडको गभर्नर बनेकी थिइन् र सन् २०२८ मा समाप्त हुने कार्यकालका लागि सन् २०२३ मा पुनः नियुक्त भएकी थिइन्।