ताराखोला जलविद्युत्को 'हब' बन्दै, छ वटा आयोजना निर्माणाधीन तथा प्रक्रियामा
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
462
Shares
गलकोट (बागलुङ)। बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकसित हुँदै गएको छ। यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भइसकेका छन् भने दुई निर्माणाधीन र दुई आयोजना निर्माणको प्रक्रियामा रहेका छन्।
सयपत्री हाइड्रो कम्पनीले निर्माण गरेको दरम खोला 'ए' जलविद्युत् आयोजना (२.५ मेगावाट) सम्पन्न भई विद्युत् उत्पादन सुरु भइसकेको छ। यसअघि समुदायको प्रयासमा साना लघु जलविद्युत्हरू सञ्चालनमा थिए।
पाँच वर्षअघि निर्माण सम्पन्न भएको ताराखोला जलविद्युत् आयोजना (३८० किलोवाट) पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
निर्माणाधीन आयोजनाहरूमध्ये मध्यताराखोला जलविद्युत् आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको छ। यसैगरी, दरम 'ए' जलविद्युत् आयोजना (४ मेगावाट) को पनि ४० प्रतिशत पूर्वाधारको काम पूरा भइसकेको छ।
साथै, तल्लो ताराखोला जलविद्युत् आयोजना (३.५ मेगावाट) र मध्यदरम 'बी' आयोजना (४.५ मेगावाट) पनि निर्माणको प्रक्रियामा रहेका छन्।
ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जलविद्युत् आयोजनाहरूमा स्थानीयको समेत लगानी रहेकाले यसले आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए। गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले पनि यसबाट स्थानीयस्तरमा उत्साह बढेको र नागरिकको जीवनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।