राष्ट्र बैंकद्वारा चाँदी आयातको भुक्तानी सीमा वृद्धि
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
540
Shares
काठमाडौँ। नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि भुक्तानीको सीमा बढाएर ५ लाख अमेरिकी डलर पुर्याएको छ। यो निर्णयले चाँदीका गरगहना, कलात्मक वस्तु र भाँडाकुँडा बनाउने उद्योगहरूलाई सहज हुने अपेक्षा गरिएको छ।
यसअघि, औद्योगिक कच्चा पदार्थका रूपमा चाँदी आयात गर्ने उद्योगहरूले प्रतिपटक ३ लाख डलरसम्मको सुविधा पाउँदै आएका थिए। अब भने उनीहरूले ५ लाख डलर वा सो बराबरको अन्य विदेशी मुद्रासम्मको सटही सुविधा पाउनेछन्।
अन्य सुनचाँदी व्यवसायीका लागि पनि प्रतिपटक १ लाख अमेरिकी डलर सम्मको सटही सुविधा प्रदान गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार, चाँदी आयातका लागि निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतितपत्रजस्ता आवश्यक कागजात पेस गर्नुपर्नेछ। सटही सुविधा प्रदान गर्ने वाणिज्य बैंकहरूले यसअघिको सुविधा प्रयोग गरी चाँदी आयात र निर्यात भए/नभएको यकिन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।