निर्वाचनका लागि तयार रहन सशस्त्रलाई प्रचण्डको निर्देशन, यस्तो छ वक्तव्य
प्रकाशित २०७३ माघ १३ बिहिबार
966
Shares
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र प्रहरी बलले विगतभन्दा अझै प्रभावकारी रणनीतिक योजनाका साथ शान्ति सुरक्षा र अमनचयन राख्न सफल बन्ने विश्वास लिएका छन् ।
सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा सञ्चालित सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले सङ्गठनलाई समयानुकूल स्रोत साधनसम्पन्न तुल्याउन सरकारले सहयोग गर्ने बताए ।
प्रधानमन्त्री दाहालले सूचना तथा सञ्चार क्षेत्रको विकासका साथै हालको सुरक्षा चुनौतीलाई सामना गर्न प्रहरी बल सक्षम रहने विश्वास लिए । प्रधानमन्त्रीले संविधानको कार्यान्वयनका लागि देशमा निकट अवस्थामा हुने तीन वटै तहको निर्वाचनमा तयार हुन प्रहरी बललाई निर्देशन दिए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधानले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको बताउँदै देशको समृद्धि, सुशासनका साथै राष्ट्रिय अखण्डता जगेर्नाका लागि सशस्त्र प्रहरीको भूमिका अझै महत्वपूर्ण हुने छ भने ।
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले राष्ट्रको बृहत्तर हित र जनताको सुरक्षाका लागि प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै बढ्दो सुरक्षा चुनौतीको सामनाका लागि राज्यका सबै सुरक्षा निकायबीच सहयोग र समन्वय आवश्यक रहेको धारणा राखे ।
सो अवसरमा सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम लिने क्रममा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने सशस्त्र प्रहरी अधिकृतलाई सम्मान गरिएको थियो । प्रहरी बल महाविद्यालय पोखराका समादेशक वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक कवीन्द्रमान श्रेष्ठले सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा २५ अधिकृतले ५४ हप्ता अवधिको तालिम हासिल गरेको जानकारी दिए ।
वक्तव्य
माननीय उपप्रधान तथा गृहमन्त्री ज्यू,
माननीय मन्त्री ज्यू,
माननीय सभासदज्यूहरु,
माननीय मुख्य न्यायाधीशज्यू,
सम्पूर्ण राष्ट्रसेवकहरु,
आज दीक्षित हुनु हुने सम्पूर्ण सशस्त्र प्रहरी अधिकृतहरु,
कार्यक्रममा उपस्थित अन्य महानुभावहरु,
सञ्चारकर्मी मित्रहरु ।
सशस्त्र प्रहरी बल तालिम महाविद्यालय, लामापाटन, पोखरामा संचालित सि।सं। ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरी दीक्षान्त कवाज अवलोकन गर्ने अवसर प्राप्त भएकोमा मलाई विशेष खुशी लागेको छ । यसका लागि सशस्त्र प्रहरी महानिरीक्षक तथा सशस्त्र प्रहरी बल परिवारप्रति हार्दिक आभार प्रकट गर्दछु ।
सर्वप्रथम, आज दीक्षित हुनु हुने सशस्त्र प्रहरी अधिकृतहरुलाई अनिवार्य रुपमा पूरा गर्नु पर्ने फौजी तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा हार्दिक बधाई दिदैँ कार्यक्षेत्र र व्यक्तिगत जीवनमा निरन्तर प्रगति र सफलता मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । यस अवसरमा राष्ट्र र जनताको सेवाका लागि आफ्नो सुयोग्य सन्तान शसस्त्र प्रहरी बलमा प्रवेश गराउने दीक्षित सशस्त्र प्रहरी अधिकृतका परिवारजनहरुमा समेत हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु ।
यसका साथै नवदिक्षित अधिकृतहरुबाट सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको चामत्कारिक विकास संग संगै हालको सुरक्षा क्षेत्रमा देखिएका नयां चुनौतीहरुको सामनामा खरो उत्रिने अपेक्षा एवं विश्वास व्यक्त गर्दछु । मुलुकमा शान्ति सुरक्षा कायम र विपद व्यवस्थापन गर्ने कार्यमा सशस्त्र प्रहरी बलले खेलेको भूमिका एवं देखाएको तत्परता प्रशंसनीय रही आएको छ । स्थापनाकाल देखि नै यस बलले व्यवसायिक कौशलता प्रदर्शन गर्दै आम नागरिकको सेवा सुरक्षा एवं बिनासकारी भूकम्प लगायतका विपदाको समयमा उद्धारमा खेलेको महत्वपूर्ण भूमिकाको सांच्चै नै सह्रानीय छ । यसैका कारण यस संगठन प्रत्येक नेपाली जन मनमा बस्न सफल भएको मैले महशुस गरेको छु । सशस्त्र प्रहरी बलले समाजमा देखा परेका सुरक्षा चुनौतीहरुलाई सामना गर्न प्रचलित मानव अधिकार एवं अन्तर्रािष्ट्रय मानवीय कानूनको परिधिभित्र रही निर्वाह गर्दै आईरहेको भूमिका समेत सह्रानीय रहेको छ ।
संगठनको नेतृत्व र सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले अन्य सुरक्षा निकायहरुसंगको नजिकको समन्वयमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा देखाएको तदारुकताका कारण आम नागरिकले सोचे अनुरुपको सुरक्षा व्यवस्था कायम हुन सकेको नेपाल सरकारको बुझाई रहेको छ । यसका लागि यहाँहरुले प¥ुयाउनु भएको योगदानको उच्च कदर गर्दै संगठनका प्रमुख लगायत सम्पूर्ण राष्ट्रसेवकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आगामी दिनहरुमा समेत विगतभन्दा अझ बढी सृजनशील एवं प्रभावकारी रणनैतिक योजनाका साथ देशमा शान्ति सुव्यवस्था एवं अमन चयन कायम राख्न सदैव क्रियाशील रही रहनु हुनेछ भन्ने मैले विश्वास लिएको छु । तपाईहरुको यस सत् प्रयासमा नेपाल सरकार सदैव तपाइहरुको साथ र सहयोगका लागि तत्पर रहेको व्यहोरा समेत अवगत गराउँदछु । साथै यस संगठनलाई समयानुकूल श्रोत साधन सम्पन्न तुल्याउने कार्यमा नेपाल सरकारको तर्फबाट पु¥याउनु पर्ने हर सहयोग निरन्तर उपलव्ध गराईरहने कुरा यसै अवसरमा जानकारी गराउन चाहन्छु ।
हाल मुलुक संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको सन्दर्भमा विधिको शासनको मूल मर्मलाई आत्मसात गर्दै कानून कार्यान्वयन गराउने निकायहरु थप चनाखो एवं होसियार रहेर आफ्ना काम कारवाही संचालन गर्नु अहिलेको आवश्यकता हो । मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा निकट भविष्यमा घोषणा हुने विभिन्न स्थानीय तह, प्रदेश र संघीय निर्वाचनहरुको लागि तयारी अवस्थामा रहन सम्पूर्ण सशस्त्र प्रहरी राष्ट्र सेवकहरुलाई निर्देशन गर्दछु । यसका साथै मुलुकमा दाहोरिरहने विपदका घटनाबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणको सन्दर्भमा तत्काल खोज, उद्धार र राहत दिने कार्यमा समेत सदा तयारी अवस्थामा रहन म सकल दर्जालाई निर्देशित गर्न चाहन्छु । अन्त्यमा, अत्यन्त अनुशासित,मेहेनती, उच्च नैतिक चरित्रवान् एवं लगनशील भई राष्ट्रसेवामा खटिन नव दीक्षित सशस्त्र प्रहरी निरीक्षकहरुलाई सफलता मिलोस् भन्ने कामनाका साथ मेरो संक्षिप्त मन्तव्य यही अन्त्य गर्दछु, धन्यवाद ।