गृहमन्त्रीद्वारा आमाको नामबाट नागरिकता दिने विधेयकमाथि जोड
नागरिकताविहीन बन्नुपर्ने अवस्थाको अन्त्य गर्न ऐन संशोधन गर्नुपरेको हो: लेखक
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
2.4k
Shares
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नागरिकताविहीन बन्नुपर्ने अवस्थाको अन्त्य गर्न नागरिकता ऐन संशोधन गर्न लागिएको बताएका छन्। उनले आम नागरिकलाई नागरिकता सहज बनाउन विधेयक आवश्यक रहेको बताए।
शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै उनले संविधानले आमा र बाबु दुवैको नामबाट नागरिकता दिने व्यवस्था गरे पनि व्यावहारिक रूपमा कार्यान्वयन हुन नसक्दा समस्या आएको उल्लेख गरे।
गृहमन्त्री लेखकले भने, "बुबा विदेशी थिए, आफ्नो देश फर्किएर गए वा स्वदेशमै रहेर पनि सहयोग गर्दैनन्, यस्तो कुनै पनि अवस्थामा आमाले मेरो नामबाट सन्तानलाई नागरिकता देउ भन्दा दिने स्थिति बनाउने आधारभूत अधिकार प्रदान गर्नका लागि ऐन संशोधन गर्न लागिएको हो।"
उनले बाबु बेपत्ता भएको वा पहिचान नखुलेको अवस्थामा आमाको स्वघोषणाका आधारमा नागरिकता दिने व्यवस्था गरिएको पनि स्पष्ट पारे। उनले विधेयकमा कुनै कमजोरी भए त्यसलाई सुधार गरेर छिटो पास गर्न समिति सदस्यहरूलाई आग्रह गरे।