बागलुङमा 'ठेक्कामा रोपाइँ' को नयाँ चलन, बाँझो खेत हराभरा
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
843
Shares
गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–७, रेश गाउँमा बाँझिएका खेतहरू हराभरा बनाउन नयाँ अवधारणाको सुरुवात भएको छ। गाउँका गुमबहादुर घर्ती र उनकी श्रीमती देवी घर्ती तथा अमरबहादुर थापाले ठेक्कामा रोपाइँ गर्ने काम सुरु गरेका छन्।
गाउँका करिब १५ सय रोपनी खेत बाँझो हुन थालेपछि उनीहरूले प्रतिरोपनी रु ३,२६६ मा ठेक्का लिएर रोपाइँको व्यवस्था मिलाएका हुन्। यसअन्तर्गत उनीहरूले खेताला खोज्ने, बिउ ल्याउनेलगायत सबै कामको जिम्मेवारी लिन्छन्, जसबापत जग्गाधनीले अग्रिम रकम उपलब्ध गराउनुपर्छ।
यो अवधारणा निकै सफल देखिएको छ। घर्ती दम्पतीले गत असारमा मात्र १८९ रोपनी खेतमा रोपाइँ गरेर रु ६ लाख १७ हजार ४०० कमाएका थिए र १० जनालाई रोजगारी दिएका थिए। त्यसैगरी, अमरबहादुर थापाले पनि १८६ रोपनीमा रोपाइँ गरेर रु ६ लाख ७ हजार ६०० आर्जन गरेका थिए र १० जनालाई काम दिएका थिए।
यस कार्यको प्रशंसा गर्दै वडा कार्यालयले उनीहरूलाई सम्मान गर्नुका साथै खनजोतका लागि एउटा मिनी टिलर उपहार दिने घोषणा गरेको छ। वडाध्यक्ष प्रेम लामिछानेले यो योजना अनुकरणीय रहेको र यसले जग्गाधनीलाई झन्झटबाट मुक्ति मिलेको बताएका छन्।