'मैले मेरो छोरालाई अर्काको दास बनाउन पठाउँदै छु' [फोटोफिचर]
राज्यले देशमा उद्योग, कलकारखाना खोली युवालाई देशमै बस्ने वातावरण बनाइ काम गरी खाने अवस्था ल्याउन पर्नेमा जोड
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
553
Shares
तस्बिर–सरोज शाही, नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । आज अगष्ट १२ तारिख अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस । सन् १९९८ अगस्ट ८ देखि १२ तारिखसम्म संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको राजधानी लिस्वनमा विश्वका १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व युवा सम्मेलन आयोजना गरी सो सम्मेलनबाट आआफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धता जनाउनुका साथै युवा सशक्तिकरणका पक्षमा ८८ बुँदे लिस्वन घोषणापत्र समेत जारी गरेको थियो ।
त्यसपछि राष्ट्रसंघको आहानमा सन् २००० बाट विश्वभर हरेक वर्षको अंगष्ट १२ का दिन युवा सशक्तिकरण, जागरण र वहस गर्ने महत्वपूर्ण दिनको रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आएको छ ।
यसै सन्दर्भमा नेपालमा दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागीता समृद्धिको आधार भन्ने मूल नाराका साथ देशव्यापी रुपमा यो दिवस मनाउँदै गर्दा देशको राजनीतिक अवस्थाले गर्दा युवाहरु विदेशिन बाध्य भएका छन् ।
गलामा नेपालको राष्ट्रिय झण्डा बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जापान उड्नका लागि गोरखा पालुङटारबाट आएका सञ्जय नहर्की देशमा राम्रो भएको भए विदेशिन नपर्ने बताउँछन् ।
घर, परिवार साथीभाइ छोडेर विदेशिनुको बाध्यता सरकारले नबुझेको उनको गुनासो पनि छ ।
मकवानपुरका लिलाराज सुनार आफ्नो छोरा २५ वर्षीय राकेश सुनारलाई बिदाइका हात हल्लाउँदै मन भारी बनाइरहेका थिए ।
उनले भने, 'मैले मेरो छोरालाई अर्काको दास बनाउन पठाउँदै छु ।' राज्यले देशमा उद्योग, कलकारखाना खोली युवालाई देशमै बस्ने वातावरणको सृजना गर्नु पर्ने र काम गरी खाने अवस्था ल्याउन पर्ने बताए ।
रामेछाप लिखुतामाकोशीका राजिब कार्की वैदेशिक रोजगारीका लागि साउदी जाँदै गर्दा आफ्ना दुई सन्तान र श्रीमतीसँग विदाई हुँदै थिए ।
छोराछोरी, श्रीमती, घरपरिवार छोडेर विदेशिनुको बाध्यता सरकारले सही नीति, देशमा रोजगारीको अवस्था सृजना नगर्नु नै प्रमुख हो उनी बताउँछन् ।
वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढिरहँदा नेपाल बूढाबूढीको देश हुने चिन्ता बढेको छ । स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक करिब दुई हजार युवा रोजगारीका लागि विदेश गइरहेका छन् ।
गत आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक रोजगारीमा जान ८ लाख ३९ हजार २६६ युवाले श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।
प्रतिमहिना औसतमा ६९ हजार ९३९ र प्रतिदिन दुई हजार तीन सय जनाले स्वीकृति लिएको देखिएको छ ।
वैदेशिक रोजगारीमा जाने यो हालसम्मकै उच्च हो । गत आवमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये नयाँ श्रम स्वीकृति लिने ६० प्रतिशत र पुनः श्रम स्वीकृति लिने ४० प्रतिशत छन् ।
नेपाली श्रमिकका १० प्रमुख श्रम गन्तव्य देशमा क्रमशः संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, क्रोएसिया, बहराइन रहेका छन् ।
विभागका अनुसार गत वर्ष सबैभन्दा बढी संयुक्त अबर इमिरेट्स (यूएई) मा र साउदी अरब, कतार, कुवेत, ओमान, दक्षिण कोरिया, जापान र मलेसिया, बहराइनलगायत युरोप गरी ६९ देशमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर गएका छन् ।