arrow

राष्ट्र बैंकद्वारा विदेशी मुद्रा सटही सुविधामा वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भारतबाहेकका मुलुकबाट हुने सेवा आयातका लागि विदेशी मुद्रा सटही सुविधा बढाएको छ। विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र, २०८१ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

नयाँ व्यवस्थाअनुसार, अब नेपालमा दर्ता भएका कम्पनी वा संस्थाले भारतबाहेकका मुलुकबाट सेवा आयात गर्दा एक पटकमा ८ हजार अमेरिकी डलर वा सो बराबरको अन्य विदेशी मुद्राको सटही सुविधा पाउनेछन्। यस्तै, ८ हजार डलरभन्दा बढीको भुक्तानी गर्नुपरेमा भने नियामक निकायबाट स्वीकृति वा सिफारिस प्राप्त गर्नुपर्नेछ।

सेवा आयातका लागि नयाँ मापदण्ड

१५ हजार डलरसम्म: एक पटकमा १५ हजार अमेरिकी डलरसम्मको सेवा आयात गर्दा नियामक निकायको सिफारिस आवश्यक पर्नेछ। यसअघि यो सीमा १२ हजार डलर थियो।

१५ हजार डलरभन्दा माथि: १५ हजार डलरभन्दा माथिको भुक्तानीका लागि नियामक निकायको सिफारिससहित राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृति अनिवार्य हुनेछ।

अग्रिम भुक्तानी: १५ हजार डलरभन्दा बढीको अग्रिम भुक्तानी गर्नुपरेमा विदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक पर्नेछ।

स्थायी लेखा नम्बर : सेवा आयातको भुक्तानीका लागि स्थायी लेखा नम्बर अनिवार्य गरिएको छ।

विदेशी संस्थाहरूले नेपालमा सञ्चालन गर्ने आईईएलटीएस, टोफेल, पीटीई, जिआरई, जीम्याट जस्ता भाषा परीक्षाको सेवा आयातका लागि १५ हजार डलरसम्मको सटही सुविधा दिने व्यवस्था गरिएको छ। यस्तो भुक्तानीका लागि राष्ट्र बैंकको स्वीकृति नचाहिने र वाणिज्य बैंकहरूले नै आवश्यक कागजातका आधारमा यो सुविधा दिन सक्नेछन्।

त्यसैगरी, नेपाली बीमा कम्पनीहरूले भारतबाट एक्चुअरी, सर्भे र भ्यालुएसन जस्ता विशेषज्ञ सेवाका लागि भुक्तानी गर्दा नेपाल बीमा प्राधिकरणको सिफारिसका आधारमा वाणिज्य बैंकबाट सटही सुविधा लिन सक्नेछन्। यसका लागि राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक पर्ने छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ