कर्णाली विकास बैंक घोटाला प्रकरण : संस्थापक अध्यक्षसहित तीन जना थुनामा
एमालेका केन्द्रीय सदस्य मिश्र पनि संलग्न
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
538
Shares
काठमाडौँ । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकको घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
बुधबार न्यायाधीश चन्द्रबहादुर सारू र पुनमसिंह चन्दको इजलासले यो आदेश सुनाएको हो।
पुर्पक्षका लागि थुनामा जानेहरूमा राजेन्द्रवीर राय बैंकका संस्थापक अध्यक्ष, पशुपति दयाल मिश्र बैंकका पूर्वअध्यक्ष (नेकपा एमालेका केन्द्रीय सदस्य), वेदप्रकाश सिंह ठकुरी बैंकका तत्कालीन वित्त विभाग प्रमुख रहेका छन् ।
अदालतले यी तीन जनालाई अहिले नै रिहा गर्दा मुद्दा प्रभावित हुन सक्ने आँकलन गरी थुनामा राख्ने आदेश दिएको बताइएको छ।
यस प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई भने दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको छ। उनले धरौटी बुझाउन नसकेकाले तत्काल थुनामा पठाइएको छ, तर धरौटी बुझाएपछि उनलाई रिहा गरिने उच्च अदालतका सूचना अधिकारी बलबहादुर विष्टले जानकारी दिए।
यस घोटाला प्रकरणमा कुल १०९ जनालाई प्रतिवादी बनाइएको थियो, जसमध्ये १०३ जना अझै फरार छन्। सिआइबीको अनुसन्धान प्रतिवेदनअनुसार, बैंकको तीन अर्ब २० करोड ११ लाख रुपैयाँभन्दा बढीको हिनामिना भएको आरोप छ।
राजेन्द्रवीर राय सँग २ अर्ब ६३ करोडभन्दा बढी, पशुपति दयाल मिश्र सँग ८२ करोडभन्दा बढी, वेदप्रकाशसिंह ठकुरी सँग २४ करोडभन्दा बढी र भुवन बस्नेत सँग १० करोडभन्दा बढी बिगो मागदाबी गरिएको छ।