arrow

राष्ट्रिय सरोकार समिति

निजगढ विमानस्थलको मोडालिटी टुंग्याइने, पोखरा र भैरहवामा यात्रु बढाउने योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
sarokar-samiti.jpg

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सञ्चालनको 'मोडालिटी' टुंग्याइने बताएका छन्। राष्ट्रियसभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले उक्त विमानस्थल निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए।

मन्त्री पाण्डेले यसपटकको बजेट भाषणमा निजगढ विमानस्थलको मोडालिटी टुंग्याउने भनिएको र यो कामलाई तीव्रताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हवाई रुटभन्दा पनि यात्रु अभावका कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको उनले स्वीकार गरे। ती विमानस्थलमा यात्रु संख्या वृद्धिका लागि विभिन्न योजना अघि बढाइएको उनले स्पष्ट पारे। "कतिपय हवाई सेवा प्रदायक कम्पनीले यात्रुको संख्या नहुँदा करोडौँ घाटा भइरहेको जनाएका छन्," उनले भने, "यात्रु संख्या बढाउन श्रम स्वीकृति, मेनपावर कम्पनी, स्वास्थ्य परीक्षण लगायतका सुविधा सो क्षेत्रमा पुर्याउनुपर्छ।"

नेपाल एयरलाइन्सका छवटा विमान सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्री पाण्डेले आगामी दिनमा सञ्चालनमा व्यवधान नहुने गरी काम गर्न निर्देशन दिइएको बताए। प्रदेश सरकारसँगको सहकार्यमा पहाडी जिल्लामा साना जहाज चलाउने तयारी भइरहेको पनि उनको भनाइ छ।

मन्त्री पाण्डेले आगामी दशकलाई पर्यटन प्राथमिकता दशक घोषणा गर्ने तयारी गरिएको जानकारी दिँदै संघीय मन्त्रालय र निकाय, तीनै तहका सरकार तथा निजी क्षेत्रलाई सँगै राखेर पर्यटन संवाद कार्यक्रम गरिएको बताए। नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि विभिन्न योजना अघि सारिएको जानकारी दिए।

पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयास भइरहेको जानकारी दिए।

छलफलमा सांसदहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको मोडालिटी टुंगो लगाउन, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको योजना बनाउन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले योजना बनाउनुपर्ने तथा राष्ट्रिय गौरवका आयोजनाको मापदण्ड बनाउन सुझाव दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ