arrow

बजारमा लगानी नबढेपछि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दुई साता बितिसक्दा पनि बजारमा लगानी बढ्न नसकेको र बैंकहरूमा अधिक तरलता देखिएपछि आज (आइतबार) ५० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ। राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत यो निक्षेप खिच्न लागेको हो।

हाल कुल निक्षेप ७२ खर्ब रुपैयाँ नाघेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्न लागेको हो।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप सङ्कलन रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्नेलाई प्राथमिकता दिई आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।

आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ ८ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ।

केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधि अनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप सङ्कलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ।

यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ। मौद्रिक नीतिपछि बजारमा लगानी व्यापक बढ्ने अपेक्षा गरिए पनि त्यसो हुन सकिरहेको छैन। जसका कारण अधिक तरलतापछि निक्षेप खिच्न बाध्य भइरहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। उनीहरूका अनुसार, राष्ट्र बैंकले मौद्रिक नीति लचिलो ल्याए पनि सरकारको वित्त नीति कार्यान्वयन प्रभावकारी हुन नसक्दा लगानीको वातावरण बन्न सकिरहेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ