बाँके । नेपालगन्जमा लुटेराले सोमबार काउसो दलेर एक व्यक्तिको साथबाट साढे तीन लाखभन्दा बढी रकम लुटेका छन् । धम्बोजीस्थित सिद्धार्थ बैंकबाट रकम निकालेर फर्किँदै गरेका खजुराका दिनेश कँडेलको तीन लाख ६५ हजार भएको झोला लुटेराले लगेका हुन् । लुटेराले कँडेलका शरीरमा काउसो दलेर पैसासहितको झोला लुटेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चलाउने बेला एक्कासि घाँटी र टाउको चिलाउन थालेपछि आफू रकमसहितको झोला छाडेर बैंकको शौचालय गएको र फर्कँदा झोला हराएको कँडेलले बताए ।
वागेश्वरी ह्युम पाइप कम्पनीमा कार्यरत कँडेलले कार्यालय प्रयोजनका लागि झिकेको दुई लाख ६५ हजार र आफूसंँग झोलामा भएको एक लाख लुटिएको जिकिर गरे । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।