काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज (आइतबार) पाँचवटा संसदीय समितिहरूको बैठक बस्दैछ, जसमा विभिन्न राष्ट्रिय महत्त्वका विषयहरूमा गहन छलफल हुनेछ।
अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सँग सम्बन्धित विषयमा छलफल गरिनेछ। यसमा चालू आर्थिक वर्षको बजेटका लागि आयोगले दिएका सिफारिस र सुझावहरू, ती बजेटमा समावेश भए/नभएको अवस्था, आयोगले सामना गरेका समस्या र चुनौतीहरू, साथै आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीका बारेमा विस्तृत रूपमा छलफल हुनेछ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भने ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ का सम्बन्धमा विज्ञहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। सार्वजनिक लेखा समितिको बैठकमा ‘महालेखापरीक्षकको ६१औँ र ६२औँ वार्षिक प्रतिवेदन’ उपर छलफल गरिनेछ।
अन्तमा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) मा सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन निर्माणको हालको कार्यतालिका र उक्त कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारीसम्बन्धमा छलफल हुनेछ।