arrow

विद्यादेवीको पत्रकार सम्मेलन

एमाले सदस्यता नवीकरण भइसकेको छ, विवाद आवश्यक छैन - पूर्वराष्ट्रपति भण्डारी [भिडियो]

वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
bidhya-devi-04-09.jpg

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको र यस विषयलाई लिएर विवादमा पार्न आवश्यक नरहेको बताएकी छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो प्रतिक्रिया दिएकी हुन्।

उनका अनुसार, राष्ट्रपतिको कार्यकाल सकिएपछि उनले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक अवस्थाका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन गर्दै आएकी थिइन्। आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने बारेमा सोचेरै उनले विधिवत् रूपमा पार्टीको सदस्यता नवीकरण गरेको बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले आफूले यो विषय सार्वजनिक नगरिरहेकै अवस्थामा सञ्चार माध्यमले पार्टी कार्यालय, नेता, कार्यकर्ता र शुभेच्छुकको हवाला दिँदै आफ्नो पार्टी सदस्यता नवीकरणको खबर बाहिर ल्याएको बताइन्। यस्तो परिवेशमा चुपचाप बस्नु उपयुक्त नहुने भन्दै उनले सदस्यता नवीकरण गर्नुको औचित्य नै नेकपा एमालेमा आबद्ध भएर अगाडि बढ्नु रहेको स्पष्ट पारिन्।

"यसै विषयलाई मध्यनजर गर्दै मैले २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा आफूले नेकपा एमालेको सदस्यता नवीकरण गरेको सार्वजनिक गरीकन पार्टी परिवारको सदस्य भएर राजनीतिमा क्रियाशील हुने सङ्कल्प गरेको कुरा सबैलाई जानकारी गराएको थिएँ," उनले भनिन्।

हालैका दिनमा नेकपा एमालेको केन्द्रीय कमिटीसहितका उपल्ला संरचनामा आफ्नो पार्टी सदस्यता नवीकरणको विषयमा छलफल भएको कुरा सञ्चार माध्यमका समाचार, पार्टीका नेता तथा कार्यकर्ताका अन्तरवार्ता र सामाजिक सञ्जालबाट थाहा पाएको उनले बताइन्। उनले पार्टी केन्द्रीय कमिटीको बैठकको अघिल्लो दिन नेकपा एमालेको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सँग सौहार्दपूर्ण वातावरणमा छलफलसमेत भएको जानकारी दिइन्।

भण्डारीले यसभन्दा पहिले पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा आफ्नो जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटकपटक कुरा हुँदै आएको बताएकी छन्। उनले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढङ्गले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आबद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको बताएकी छन्।

तर, यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले आफ्नो सदस्यता नवीकरण नगरेको कुरा पार्टीले गरेका निर्णयहरूबारे जारी गरेको विज्ञप्तिबाट थाहा पाएको उनले दुखेसो पोखिन्। "वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन," उनले जोड दिँदै भनिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ