निजामती विधेयकमा संशोधन प्रस्तावबारे एमालेले कांग्रेसलाई दियो यस्तो जवाफ [भिडियो]
एमालेले भन्यो - संशोधन राख्न सांसदहरु स्वतन्त्र छन्
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
690
Shares
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले संघीय निजामती विधेयकमा आफ्ना सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावबारे नेपाली कांग्रेसलाई स्पष्टीकरण दिएको छ। एमालेले आफ्ना सांसदहरू संशोधन प्रस्ताव दर्ता गराउन स्वतन्त्र रहेको बताएको छ।
राष्ट्रिय सभामा विचाराधीन निजामती विधेयकमा 'कुलिङ पिरियड' हटाउने विषयमा एमाले सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएपछि यस विषयमा संसदमा बहस चल्दै आएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो जानकारी दिएका हुन्।
घिमिरेका अनुसार, कांग्रेसले 'कुलिङ पिरियड' मा एमाले सांसदहरूको संशोधनबारे बुझ्दा, एमालेले सांसदहरू संशोधनका लागि स्वतन्त्र रहेको र त्यहीअनुसार संशोधन आएको बताएको थियो। सरकारले ल्याएकै भूमि ऐनमा पनि कांग्रेसका केही सांसदहरूले संशोधन राखेकाले यसलाई सामान्य रूपमा बुझ्नुपर्ने घिमिरेले बताए।
"उहाँहरूको समग्र पार्टीको तर्फबाट कुरा के आएको छ भने सांसदहरूले आफ्नो ढंगले संशोधन प्रस्ताव राखे। सांसदहरू स्वतन्त्र हुन्छन्। आफ्नो संशोधनहरू राख्न स्वतन्त्र हुन्छन्," घिमिरेले भने, "भूमि ऐनमा हाम्रा १०/१२ जना सांसदहरूले राख्नुभयो। तर त्यो सरकारबाटै आएको थियो। सरकारबाटै आएको विधेयकमा पनि राख्ने प्रचलन भएकाले राखिएको हो भन्ने छ। छलफल गरेर अघि बढ्ने विषय छ।"
प्रमुख सचेतक घिमिरेले 'कुलिङ पिरियड' बारे थप छलफल गरेर टुंग्याइने पनि बताए।