५० रुपैयाँका नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो बोलपत्र आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
468
Shares
काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपाली ५० रुपैयाँ दरका ४२० मिलियन (अर्थात ४२ करोड) नयाँ नोट छपाइ तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। केन्द्रीय बैंकले बिहीबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै नोटहरू सुरक्षित तवरले छाप्नका लागि बोलपत्र माग गरेको हो।
यो बोलपत्र ‘सिंगल स्टेज टू इन्भेलोप’ प्रणालीबाट हुनेछ, जसमा प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव छुट्टाछुट्टै पेश गर्नुपर्नेछ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले यस कार्यका लागि आवश्यक बजेट विनियोजन गरिसकेको जनाएको छ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार, बोलपत्रको मूल्य नेपाली रुपैयाँमा २० हजार तोकिएको छ भने विदेशी मुद्राहरूमा यूएस डलर १४६, यूरो १२६ र पाउण्ड १०९ निर्धारण गरिएको छ। बोलपत्र कागजात खरिद गर्ने कम्पनीले उक्त रकम राष्ट्र बैंकको थापाथलीस्थित खातामा जम्मा गर्नुपर्नेछ।
बोलपत्र बुझाउने अन्तिम मिति २०८२ भदौ २३ गते सम्मलाई तोकिएको छ। बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य रहनेछ र न्यूनतम ४ करोड रुपैयाँको बैंक जमानतपत्र पनि संलग्न गर्नुपर्नेछ। नेपाल राष्ट्र बैंकले कुनै पनि वा सम्पूर्ण बोलपत्र रद्द गर्ने अधिकार सुरक्षित राखेको जनाएको छ।