समृद्धि मुठीभर मानिसको लागि नभई आम जनताका लागि हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
699
Shares
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको समृद्धि मुठीभर मानिसका लागि मात्र नभई आम जनताका लागि हुनुपर्नेमा जोड दिएकी छन्। भण्डारीले राजनीतिक स्थायित्वले नै देशभित्र लगानीको वातावरण निर्माण गर्ने बताएकी छन्। उनले नेपालको समृद्धि केवल वर्तमानको आर्थिक सूचकाङ्कले मात्रै मापन गर्न नसकिने भन्दै यसलाई दिगो तुल्याउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रतिको प्रतिबद्धता र राष्ट्रिय स्वाभिमान सँग निरन्तर जोडिरहनुपर्ने आवश्यकता औँल्याइन्।
उनका अनुसार, समृद्धिको मार्ग अरूको मोडल अनुशरण गर्ने मात्र नभई आफ्नै समाजका आवश्यकता, स्रोतसाधन, सन्दर्भ र सम्भावनालाई गहिरो रूपमा विश्लेषण गरेर तय गरिनुपर्छ। देशभित्र लगानीको वातावरण बनाउने सबैभन्दा ठूलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण नै भएको उनले बताइन्। लगानीसँगै रोजगारी, समावेशिता, ग्रामीण विकास, महिला उत्थानशीलता र वातावरणीय जिम्मेवारी पनि सुनिश्चित हुनुपर्नेमा उनले जोड दिइन्।
पूर्वराष्ट्रपति भण्डारीले नेपाल अब स्थायित्व, परिवर्तन र विकासको नयाँ युगमा प्रवेश गरिसकेको भन्दै नेपालमा लगानी गर्न आह्वान गरिन्। उनले आर्थिक समृद्धिको यात्रालाई सार्थक तुल्याउन सक्रियतापूर्वक अग्रसर बन्न आग्रह गर्दै, समृद्धि अब सपना नभई सङ्कल्प बन्नुपर्ने बताइन्। विश्वभर छरिएका नेपालीबीच नेपालका उत्पादनलाई बजारीकरण गर्ने योजना बनाउनुपर्ने र युवा उद्यमशीलता प्रवर्द्धनमा पर्याप्त ध्यान दिनुपर्ने खाँचो रहेको उनको भनाइ थियो।