प्रकाशमान निवास चाक्सीबारीमा बस्यो पूर्वपदाधिकारी बैठक, यस्तो गर्यो निर्णय [भिडियो]
सरकारलाई जनताको काममा केन्द्रित हुन र संविधान संशोधन प्रक्रिया अगाडि बढाउन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
771
Shares
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूको बैठकले सरकारलाई जनताको हितमा अझ प्रभावकारी रूपमा काम गर्न र संविधान संशोधनको प्रक्रिया तत्काल सुरु गर्न आग्रह गरेको छ। सोमबार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहको निजी निवास चाक्सीबारीमा बसेको बैठकले समसामयिक राजनीतिक परिस्थिति र सरकारको कार्यसम्पादनबारे छलफल गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस सांसद कृष्णप्रसाद सिटौलाले सरकारले अझ प्रभावकारी ढङ्गले जनताको हितमा काम गर्नुपर्नेमा जोड दिएको बताए। उनले उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसबारे ध्यानाकर्षण गराउने र आफूहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर जानकारी गराउने बताए। गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न जरुरी रहेको बैठकको निष्कर्ष रहेको सिटौलाको भनाइ छ।
संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्ने कुरा सरकारले अघि नबढाएकोमा बैठकले चासो व्यक्त गरेको छ। सिटौलाले सरकार बन्दा सभापति देउवा र नेकपा एमाले अध्यक्ष ओलीबीच भएको समझदारीअनुसार संविधान संशोधनको मुद्दा अड्किएको र त्यसलाई अब अघि बढाउनुपर्ने आफ्नो निष्कर्ष रहेको बताए। संविधान संशोधनका लागि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुने गरी विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्ने विषयमा पनि छलफल भएको उनको भनाइ छ।
सिटौलाले कांग्रेस–एमाले गठबन्धन २०८४ सम्म जाने दाबीसमेत गरेका छन्।